हर्मुज जलघाँटीमा ६ महिनामा ६८ समुद्री घटना : ऊर्जा आपूर्तिमा गम्भीर जोखिम

एजेन्सी, ९ भदौ । इरान, अमेरिका र इजरायलबीच बढ्दो तनाव र युद्धका कारण रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने हर्मुज जलघाँटी आसपासको क्षेत्र असुरक्षित बन्दै गएको छ । अन्तर्राष्ट्रिय समुद्री सङ्गठनका अनुसार पछिल्लो छ महिनामा यस क्षेत्रमा व्यापारिक जहाजसँग सम्बन्धित ६८ वटा गम्भीर घटनाहरू भएका छन् ।

यी घटनाहरूमा परी कम्तीमा २० जना नाविक तथा बन्दरगाह कामदारले ज्यान गुमाएका छन् । आइएमओको विवरणअनुसार ३५ जना घाइते भएका छन् भने एक जना अझै बेपत्ता छन् । युनाइटेड किङ्गडम मेरिटाइम ट्रेड अपरेसनले कुल घटनामध्ये ४७ वटालाई प्रत्यक्ष ‘आक्रमण’का रूपमा वर्गीकरण गरेको छ ।

आक्रमणमा परेका जहाजहरूमध्ये ५० प्रतिशत ट्याङ्कर, २० प्रतिशत कन्टेनर जहाज र १५ प्रतिशत बल्क क्यारियरहरू रहेका छन् । लाइबेरियाको झण्डा बोकेका १३, पनामा र मार्सल आइल्यान्डका १०–१० तथा इरानका चारवटा जहाज यी घटनाको चपेटामा परेका छन् ।

तथ्याङ्कअनुसार युद्ध सुरु भएदेखि जुनको मध्यसम्म औसत प्रत्येक २.३ दिनमा एउटा समुद्री घटना हुने गरेको थियो । सो अवधिमा १६ जनाको मृत्यु भएको थियो । जुलाई ७ सम्म शान्ति वार्ताको प्रयास भइरहँदा घटनाको दर केही घटेर प्रत्येक ४.६ दिनमा एक पुगेको थियो भने मानवीय क्षति भएको थिएन ।

तर, वार्ता निष्कर्षविहीन भएर टुङ्गिएपछि घटनाको दर पुनः बढेको छ । हाल औसत प्रत्येक २.८ दिनमा एउटा घटना भइरहेको छ । पछिल्लो चरणमा मात्रै ४ जनाको मृत्यु र १६ जना घाइते भइसकेका छन् । धेरैजसो घटना ओमानको तट र हर्मुजको साँघुरो जलमार्ग आसपास केन्द्रित छन् ।

विश्वव्यापी तेल तथा ग्यास आपूर्तिका लागि मुख्य मार्ग मानिने हर्मुज जलघाँटीमा बढ्दो असुरक्षाले अन्तर्राष्ट्रिय व्यापार र ऊर्जा सुरक्षामा गम्भीर चुनौती थपेको छ । इराक, इरान, कतार, साउदी अरब, ओमान र संयुक्त अरब इमिरेट्सका तटीय क्षेत्रहरूमा समेत यसको प्रत्यक्ष असर देखिएको छ ।