भोटेकोशीको बाढीले जलविद्युत् आयोजनाहरू १९० कर्मचारी र कामदार सम्पर्कविहीन

काठमाडौँ, १० भदौ । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा र नुवाकोट जिल्लामा सञ्चालित तथा निर्माणाधीन विभिन्न जलविद्युत् आयोजनाहरूमा कार्यरत १९० जना कर्मचारी र कामदारहरू सम्पर्कविहीन भएका छन् । नेपाल विद्युत् प्राधिकरणले बुधबार सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार बाढीले आयोजनाका संरचनाहरूमा क्षति पुर्‍याउनुका साथै ठुलो सङ्ख्यामा जनशक्ति बेपत्ता भएका हुन् ।

प्राधिकरणका अनुसार बाढीबाट सबैभन्दा धेरै रसुवागढी जलविद्युत् केन्द्र प्रभावित भएको छ, जहाँ ९२ जना कर्मचारी सम्पर्कविहीन छन् । यस्तै, त्रिशूली ३ए जलविद्युत् केन्द्रको पावर हाउस मर्मत कार्यमा खटिएका ४५ जना कर्मचारी पनि सम्पर्क बाहिर रहेका छन् ।

त्रिशूली ३बी साइट: निर्माणाधीन यस आयोजनाको साइटमा कार्यरत २१ जना र थप ११ जना कामदार गरी कुल ३२ जना सम्पर्कविहीन छन् । त्रिशूली २२० केभी ३बी सबस्टेसन: ठेकेदारका तर्फबाट कार्यरत १६ जना कामदार बेपत्ता छन् ।

चिलिमे जलविद्युत् केन्द्रको पावर प्लान्ट र आवास क्षेत्रबाट ७ जना कर्मचारी सम्पर्कविहीन भएका छन् । त्यस्तै त्रिशूली जलविद्युत् केन्द्र र देवीघाट जलविद्युत् केन्द्रका १–१ जना तथा चिलिमे पावर हाउसका स्विचयार्ड कर्मचारी र मिटर रिडर पनि सम्पर्कमा छैनन् ।

भोटेकोशीको बाढीले पावर हाउस, सबस्टेसन र कामदार बस्ने आवास क्षेत्रहरूमा समेत क्षति पुर्‍याएको छ । बाढी र पहिरोका कारण सञ्चार सम्पर्क विच्छेद भएकाले बेपत्ताहरूको यकिन अवस्था थाहा पाउन कठिन भएको प्राधिकरणले जनाएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी राखेका छन् । यद्यपि, प्रतिकूल मौसम र सडक अवरोधका कारण उद्धार कार्यमा चुनौती थपिएको छ ।