१४ सहसचिव र ९ उपसचिवको सरुवा, झापासहित ७ जिल्लाका सिडिओ फेरिए
काठमाडौँ, २० भदौ । सरकारले ठुलो सङ्ख्यामा वरिष्ठ प्रशासनिक अधिकारीहरूको सरुवा तथा पदस्थापन गरेको छ। गृह मन्त्रालयको शुक्रबारको मन्त्रीस्तरीय निर्णयअनुसार १४ जना सहसचिव र ९ जना उपसचिव गरी कुल २३ जना अधिकारीहरूको जिम्मेवारी हेरफेर गरिएको हो।
यस पटकको सरुवामा झापा, सुर्खेत, बारा, गोरखा, रौतहट, दोलखा र पर्वत लगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) फेरिएका छन्।
मन्त्रालयका अनुसार झापाको प्रमुख जिल्ला अधिकारीमा श्रवणकुमार पोखरेललाई पठाइएको छ भने त्यहाँ कार्यरत शिवराम गेलाललाई गृह मन्त्रालयमा तानिएको छ। त्यसै गरी सुर्खेतमा महेन्द्रकुमार सापकोटा, बारामा खडानन्द अधिकारी, गोरखामा धर्मेन्द्रकुमार मिश्र, दोलखामा रेखा कँडेल, पर्वतमा गङ्गाबहादुर क्षेत्री र रौतहटमा लक्ष्मीप्रसाद पौडेललाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ।
सहसचिव ऋषिराम तिवारीलाई लागूऔषध नियन्त्रण विभागको महानिर्देशकमा सरुवा गरिएको छ। रौतहटका पूर्वसिडिओ दिनेशसागर भुसाल, गोरखाका तुलसीबहादुर श्रेष्ठ र दोलखाका हरिप्रसाद घिमिरेलाई गृह मन्त्रालय तथा मातहतका निकायमा फिर्ता बोलाइएको छ।
उपसचिवहरूको सरुवाअनुसार भोजपुर : कुलेश्वर अर्याल, जाजरकोट : नवराज बराल, खोटाङ : महेशकुमार गुरुङ, सल्यान : बन्दना केसी, म्याग्दी : गणेश गैरे, डडेल्धुरा : बेदराज फुयाँल (प्रमुख जिल्ला अधिकारी), बाँके : अमरबहादुर वली (सहायक प्रमुख जिल्ला अधिकारी)लगाएत नयाँ नेतृत्व तोकिएको छ ।