दसैँ नजिकिएसँगै नेपालगञ्जका मूर्तिकारलाई भ्याइनभ्याइ

राँझा (बाँके), ६ असोज । नेपालीको महान् चाड दसैँ नजिकिएसँगै नेपालगञ्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ भएको छ । सडक किनारका अस्थायी टहरादेखि घरका आँगनसम्म यतिबेला विभिन्न देवीदेवताका माटोका मूर्ति देखिन थालेका छन् ।

तराई क्षेत्रमा घटस्थापनाका दिनदेखि टोल–टोलमा माटोका मूर्ति स्थापना गरी नवदुर्गा भवानीको पूजाअर्चना गर्ने पुरानो परम्परा छ । यही परम्पराका कारण नवरात्र नजिकिएसँगै यहाँका मूर्तिकार दिनरात नभनी मूर्ति बनाउन व्यस्त हुने गरेका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका–८ का अङ्कित मिश्र एक महिनाअघिदेखि नै मूर्ति बनाउन व्यस्त हुनुहुन्छ । दुर्गा भवानीको मूर्तिले आकार लिएपछि अहिले उहाँ र सहयोगीहरू साजसज्जा तथा रङरोगनमा जुटेका छन् । पराल, बाँस, माटो, भुस र दाउराको प्रयोग गरी बनाइएका मूर्तिमा देवीदेवताका वाहन तथा अस्त्रशस्त्र सजाउने अन्तिम काम भइरहेको मिश्रले बताउनुभयो ।

“दुर्गा, लक्ष्मी, गणेश र कार्तिकसँगै बाघ, मुसा, राँगा र सर्पका आकृति तयार भइसकेका छन्,” उहाँले भन्नुभयो, “ग्राहकले एक महिनाअघिदेखि नै अर्डर गर्ने भएकाले समयमै काम सक्न चटारो छ ।” मूर्तिको सजावटमा प्रयोग हुने सामग्री तथा औजार भने सीमावर्ती भारतीय बजार रुपैडिहाबाट ल्याउने गरिएको उहाँले बताउनुभयो ।

नेपालगञ्ज–६ का सन्दीपकुमार वंसकारको दैनिकी पनि यतिबेला माटोसँगै बितिरहेको छ । पुख्र्यौली पेसालाई निरन्तरता दिँदै आउनुभएका वंसकारले सडक किनारको अस्थायी टिनको टहरामा सयौँ मूर्ति तयार पारिरहनुभएको छ ।

“सानोमा घरमै ससाना मूर्ति बनाउँथेँ, पछि ठूला मूर्ति बनाउन थालेँ,” उहाँले भन्नुभयो, “नवरात्र हाम्रो मुख्य सिजन हो । मेहनत धेरै हुन्छ । पराल, माटो, काठ, काँटी र डोरीलगायत सामग्रीको जोहो गर्नुपर्छ ।”

उहाँका अनुसार एउटा मूर्ति रु २० हजारदेखि रु २५ हजारसम्ममा बिक्री हुने गरेको छ । एउटा मूर्तिबाट करिब रु चार हजारदेखि रु पाँच हजारसम्म नाफा हुने उहाँले बताउनुभयो । वंसकारले आफूसँगै अन्य छ जनालाई रु १० हजारदेखि रु २० हजारसम्म पारिश्रमिक दिएर रोजगारीसमेत दिइरहनुभएको छ ।

सङ्गठित सङ्घ–संस्थाको अभावमा मूर्तिकारले विभिन्न समस्या भोग्नुपरेको गुनासो पनि गरेका छन् । स्पष्ट दररेट निर्धारण नहुँदा आ–आफ्नै हिसाबले मूर्ति बिक्री गर्नुपर्ने बाध्यता रहेको उनीहरूको भनाइ छ । नियमित तथा चिनजानका ग्राहकलाई छुट दिँदा कतिपय अवस्थामा घाटा सहनुपरेको वंसकारको अनुभव छ ।

विगतमा अधिकांश मूर्ति भारतबाट आयात हुने गरेकामा पछिल्ला वर्षमा नेपालगञ्जमै बनेका मूर्तिको माग बढ्दै गएको छ । स्थानीय रूपमा अर्डर गर्दा टाढाबाट ल्याउँदा हुने टुटफुटको जोखिम कम हुने भएकाले ग्राहकले यहीँ मूर्ति बनाउन थालेको मूर्तिकार सन्दीप बताउनुहुन्छ । यद्यपि, ठूला आकार तथा विशेष डिजाइनका मूर्ति बनाउन अझै केही ग्राहक भारतीय बजार जाने गरेका छन् ।

बाँकेको नेपालगञ्ज, कोहलपुर, जानकी, खजुरा, डुडुवा र नरैनापुर क्षेत्रमा दसैँको भोलिपल्ट दुर्गा झाँकी निकाल्ने परम्परा छ । टोल–टोलमा समुदाय मिलेर रकम सङ्कलन गरी वा निजी खर्चमा नवदुर्गा भवानीको मूर्ति स्थापना गर्ने गरिन्छ ।

स्थानीय अगुवा सन्तोषकुमार कनोडियाका अनुसार टोलमा देवीको मूर्ति स्थापना गरेसँगै बगियामा रामलीला सुरु हुने र त्यसपछि मात्र दसैँको वास्तविक माहोल सुरु हुने गर्दछ ।

नवरात्रभर विधिपूर्वक पूजाअर्चना गरिएका ती मूर्ति दसैँको भोलिपल्ट नजिकैको राप्ती नदीमा लगेर धूमधामका साथ विसर्जन गर्ने प्रचलन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *