नारायणीको बाढीले सुस्ता डुबानमा, २९ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

काठमाडौं, १० असोज । नारायणी नदीको बाढी बस्तीमा पसेपछि पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित थारुटोलबाट सशस्त्र प्रहरीले २९ जनाको सकुशल उद्धार गरेको छ।

केही दिनदेखि परेको अविरल वर्षाका कारण नारायणी नदीको बहाव बढेपछि थारुटोलमा बाढी पसेको हो। बाढी प्रभावित क्षेत्रमा आज बिहान पौने ९ बजे सशस्त्र प्रहरी बल, नेपाल बीओपी सुस्ताबाट उद्धार टोली परिचालन गरिएको थियो।

सशस्त्र प्रहरी निरीक्षक मनोज कार्कीको कमान्डमा खटिएको २१ जनाको टोलीले डुबानमा परेका २९ जना स्थानीयको उद्धार गरेको हो। टोलीले एक गाई र १३ वटा बाख्रालाई समेत सुरक्षित स्थानमा सारेको सशस्त्र प्रहरीले जनाएको छ।

उद्धार गरिएका स्थानीय तथा चौपायालाई सुस्ता गाउँपालिका–५ मा रहेको होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको छ। यसअघि नारायणीको बाढी थारुटोलमा पस्दा १६५ घर प्रभावित भएका थिए। थारुटोलका ७८ परिवारलाई होल्डिङ सेन्टरमा सारिएको थियो। यस्तै, सैनिक टोल र बड्का टोलमा समेत बाढी पसेपछि थप ८५ परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको थियो।

नारायणी नदीको जलसतह बढिरहेको र सुस्ताका अन्य बस्तीसमेत जोखिममा रहेको स्थानीयले बताएका छन्। सुस्तामा निर्माणाधीन तटबन्धको १३२ मिटर भाग अझै निर्माण हुन बाँकी रहेकाले उक्त क्षेत्रमा नदी कटानको जोखिम रहेको उनीहरूको भनाइ छ। बाढी प्रभावित क्षेत्रमा सशस्त्र प्रहरीको थप उद्धार तथा राहत कार्य जारी रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *