कृष्णभिरको पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा
काठमाडौं, १० असोज । धादिङको कृष्णभिरमा पहिरो खसेपछि अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ।
बेनिघाट रोराङ गाउँपालिका–७ का वडाध्यक्ष कुमार बस्नेतका अनुसार शनिबार दिउँसो साढे १२ बजेदेखि राजमार्ग एकतर्फी सञ्चालनमा ल्याइएको हो।
उनका अनुसार तत्काल दुईतर्फी यातायात सञ्चालन गर्न भने कठिनाइ रहेको छ। थप पहिरो नखसेमा आजैदेखि राजमार्ग नियमित रूपमा सञ्चालनमा ल्याउन सकिने उहाँले बताउनुभयो।
बिहीबार राति ढुंगासहितको पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो। पहिरोको जोखिमका कारण रातभर राजमार्गमा यातायात सञ्चालन हुन सकेको थिएन।
गत भदौ १४ गते कृष्णभिर क्षेत्रमा सडक भासिएपछि डाइभर्सन निर्माण गरेर यातायात सञ्चालन गरिएको थियो। सोही अस्थायी डाइभर्सनमा पहिरो खसेपछि पुनः राजमार्ग अवरुद्ध भएको हो।
हाल पहिरो पन्छाएर एकतर्फी यातायात सञ्चालनमा ल्याइएको भए पनि सडक पूर्णरूपमा दुईतर्फी सञ्चालनमा आउन अझै समय लाग्ने जनाइएको छ।
