भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो
काठमाडौँ, असोज १० । भाद्र शुक्ल पूर्णिमाका अवसरमा राजधानीको पश्चिमोत्तर भेग चन्द्रागिरि नगरपालिका १ स्थित इन्द्रदहमा आज बिहानैदेखि स्नान तथा पूजाआराधना गर्ने भक्तजनको घुइँचो लागेको छ ।
वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी भाद्र शुक्ल चतुर्दशीका दिन परम्परागत रूपमा इन्द्रजात्रा मनाएपछि भक्तजन राति इन्द्रदहमा जाग्राम बस्ने प्रचलन छ । सोही परम्पराअनुसार शुक्रबार राति नै भक्तजन इन्द्रदह पुगेका थिए ।
भक्तजनले दिवङ्गत आफन्तको आत्माको शान्तिको कामना गर्दै इन्द्रदह परिसरमा रहेको इन्द्र मन्दिर क्षेत्रमा बत्ती बालेर रातभर जाग्राम बसेका थिए । बिहान इन्द्रदहमा स्नान गरी गणेश, इन्द्रलगायत देवीदेवताको पूजा आराधना गरिएको चन्द्रागिरि नगरपालिका–१ का सूचना अधिकारी रचना अर्यालले जानकारी दिनुभयो ।
उहाँका अनुसार इन्द्रदहमा प्रत्येक वर्ष भाद्र शुक्ल पूर्णिमाका दिन स्नान तथा पूजाआराधनाका लागि ठूलो सङ्ख्यामा भक्तजन पुग्ने गरेका छन् । कतिपय भक्तजन भने भाद्र शुक्ल चतुर्दशीको साँझ नै इन्द्रदह पुगेर बत्ती बाल्दै जाग्राम बस्ने गर्छन् ।
धार्मिक विश्वासअनुसार भाद्र शुक्ल पूर्णिमाका दिन इन्द्रदहमा बत्ती बाल्ने, स्नान गर्ने तथा पूजा आराधना गरेमा दिवङ्गत आफन्तको आत्माले शान्ति प्राप्त गर्ने विश्वास रहिआएको छ । दिवङ्गत व्यक्ति स्वर्ग पुग्ने र स्वर्गका राजा इन्द्रको विशेष पूजा आराधना गर्ने दिनका रूपमा समेत यस पर्वलाई लिने गरिएको छ ।
इन्द्रदहमा लाग्ने मेलाका अवसरमा चन्द्रागिरि नगरपालिका–१, २ र ३ का विद्यालय तथा कार्यालयमा स्थानीय पर्व बिदा दिने गरिएको छ । यस वर्ष पर्व शनिबारको सार्वजनिक बिदाकै दिन परेकाले छुट्टै स्थानीय बिदा दिनु नपरेको सूचना अधिकारी अर्यालले बताउनुभयो ।
इन्द्रदह धार्मिक तथा सांस्कृतिक महत्व बोकेको स्थलका रूपमा रहेको छ । प्रत्येक वर्ष यहाँ आयोजना हुने धार्मिक गतिविधिमा स्थानीयवासीसँगै काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट भक्तजन सहभागी हुने गरेका छन् ।
