८ करोड रुपियाँमा नन्दीकेशर सत्तल निर्माण हुँदै : कार्यवाहक प्रमुख डंगोलबाट शिलान्यास

काठमाडौँ,  असोज १० ।  काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले ८ करोड १६ लाख ९१ हजार रुपैयाँ लागतमा पुनःनिर्माण हुने नन्दीकेशर सत्तलको जग पूजा तथा शिलान्यास गर्नुभएको छ । २०७२ सालको भूकम्पबाट जीर्ण भएपछि भत्काइएको सत्तल स्थानीयबीचको मतभेदका कारण लामो समयदेखि पुनःनिर्माण हुन नसकेकोमा आवश्यक प्रशासनिक तथा न्यायिक प्रक्रिया पूरा गरी महानगरपालिकाले पुनःनिर्माणको काम अघि बढाएको हो ।

शिलान्यास कार्यक्रममा कार्यवाहक प्रमुख डंगोलले काठमाडौँका ढलेका मूर्त सम्पदा पुनःनिर्माण तथा हराउँदै गएका अमूर्त सम्पदाको पुनःस्थापनालाई महानगरपालिकाले प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । “यी संरचना काठमाडौँका पहिचान र स्मारक हुन्,” उहाँले भन्नुभयो, “ढलेका मूर्त सम्पदा उठाउने र हराएका अमूर्त सम्पदा पुनःस्थापना गर्ने कामलाई प्राथमिकतामा राखेका छौँ ।”

उहाँले नन्दीकेशर सत्तलको पुनःनिर्माण सुरु हुनु सम्पदा संरक्षणका दृष्टिले महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । स्थानीयबीचको असहमतिका कारण लामो समयदेखि रोकिएको पुनःनिर्माण प्रक्रिया सहमतिमा पुर्‍याएर काम सुरु गर्न सकिएको उहाँको भनाइ थियो ।

वडाका अध्यक्ष भरतलाल श्रेष्ठले सत्तल पुनःनिर्माण सुरु हुनु नै महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । “भत्किएका सम्पदा बनाउँछौँ भन्दा पनि काम गर्न पाइएको थिएन,” उहाँले भन्नुभयो, “सत्तल पुनःनिर्माणपछि वडाका प्रशासनिक सेवासमेत यहीँबाट प्रवाह गर्नेछौँ ।”

वडा सचिव सर्वज्ञराज पौडेलले शिलान्याससम्मको अवस्थामा ल्याउन लामो प्रक्रिया पूरा गर्नुपरेको बताउँदै अब निर्धारित समयमै निर्माण सम्पन्न गर्ने विषयमा ध्यान केन्द्रित गरिने बताउनुभयो । निर्माण अवधि २०८५ भदौ ३० गतेसम्म तोकिएको छ ।

आर्किटेक्ट डिजाइनर इरु श्रेष्ठका अनुसार नन्दीकेशर सत्तल ४४१ दशमलव १४ वर्गमिटर क्षेत्रफलमा मौलिक स्वरूप कायम हुने गरी दुई तलाको निर्माण हुनेछ । सत्तलको चौडाइ १८ फिट तथा दक्षिणतर्फको लम्बाइ १४८ फिट र पश्चिमतर्फ १४७ फिट रहनेछ । प्रत्येक तलाको क्षेत्रफल तीन हजार ८८१ वर्गफिट हुनेछ ।

श्री ५ सुवर्णप्रभा महारानीले साके संवत् १७३० मा निर्माण गराएको नन्दीकेशर सत्तल विसं १९९० र २०२८ मा जीर्णोद्धार गरिएको अभिलेखमा उल्लेख छ । २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भएपछि पुनःनिर्माणका क्रममा स्थानीयवासीबीच मतान्तर उत्पन्न भएपछि लामो समय काम रोकिएको थियो ।

सत्तल पुनःनिर्माणका लागि ११ करोड ९८ लाख २५ हजार ६३५ रुपैयाँ लागत अनुमान गरिएको थियो । सार्वजनिक खरिद प्रक्रियाबाट ८ करोड १६ लाख ९१ हजार ७२३ रुपैयाँमा निर्माण कम्पनी आर.आर.–आर.जी.एस.सँग निर्माण सम्झौता भएको महानगरपालिकाले जनाएको छ ।

विसं २०३६ मा काठमाडौँ नगर पञ्चायतले तयार गरेको अभिलेखअनुसार सत्तल चारैतिर समान रूपमा फैलिएको थियो । सत्तलको बीचको प्राङ्गणमा मन्दिर रहेको तथा दक्षिणतर्फको भाग नन्दी रात्री विद्यालयले कक्षा सञ्चालनका लागि प्रयोग गर्दै आएको उल्लेख छ ।

पुरानो अभिलेखमा सत्तलमा घरबारविहीन व्यक्तिले आश्रय लिएर बस्ने गरेको उल्लेख छ । काष्ठकला तथा प्रस्तरकलाले समृद्ध सत्तल संरक्षणको अभावमा जीर्ण बन्दै गएको, काठ मक्किएको तथा जस्ता र झिँगटीको छानाबाट पानी चुहिँदा भित्तामा समेत असर परेको अभिलेखमा उल्लेख गरिएको छ । सत्तलको पूर्वतर्फ चार तथा दुई धारा, पश्चिमतर्फ खाली ठाउँ तथा बाटो र उत्तर तथा दक्षिणतर्फ सडक रहेको विवरणसमेत अभिलेखमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *