दैवी प्रकोप उद्धार कोषमा १५ अर्ब ५३ करोडभन्दा बढी मौज्दात

काठमाडौँ, ८ असोज । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी छ। सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्म रु १५ अर्ब ५३ करोडभन्दा बढी मौज्दात रहेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका विभिन्न नौ वटा वाणिज्य बैंकमा रु ११ अर्ब ६३ करोड ८० लाख ९८० हजार २९१ मौज्दात रहेको छ।

त्यस्तै, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका अमेरिकी डलर खातामा २ करोड ५४ लाख ४७ हजार ५४६ अमेरिकी डलर मौज्दात रहेको कार्यालयले जनाएको छ।

नेपाली रुपैयाँ र डलर खातासहित कोषमा कुल रु १५ अर्ब ५३ करोड २४ लाख ४२ हजार ९६२ मौज्दात रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

सरकारले कोषमा जम्मा भएको रकममध्ये यसअघि नै रु १ अर्ब बाढी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ। प्रधानमन्त्री कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै कोषमा रु २० करोड ७२ लाख ५६ हजार ९३१ जम्मा भएको छ। बाढी प्रभावितका लागि विभिन्न व्यक्ति, संस्था तथा निकायबाट आर्थिक सहयोग आउने क्रम जारी रहेको कार्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *