काभ्रेपलाञ्चोककाे रोशी खाेलामा बाढी, पहिरोले बिपी राजमार्ग अवरुद्ध, राति सवारी चलाउन रोक
काभ्रेपलाञ्चोक, ९ असाेज । अविरल वर्षासँगै पहिरो खसेपछि बिपी राजमार्ग अवरुद्ध भएको छ। रोशी गाउँपालिकाका दुई स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।
बिहीबार बिहान ४ः३० बजे रोशी गाउँपालिका–७ को चारसयबेँसी र रोशी–८ को गिम्दीमा पहिरो खसेको हो। पहिरोका कारण राजमार्गमा सवारी आवागमन प्रभावित भएको प्रहरीले जनाएको छ।
लगातारको वर्षा र सम्भावित बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै काभ्रे खण्डमा बिहीबारदेखि रातिको समयमा सवारी आवागमन बन्द गरिएको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार असोज ८ गतेदेखि १२ गते बिहानसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म बिपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा सवारी सञ्चालनमा रोक लगाइएको छ।
बाढी तथा पहिरोको अवस्था हेरी दिउँसोसमेत सवारी सञ्चालन रोक्नुपर्ने अवस्था आए जिल्ला प्रहरी कार्यालयले आवश्यक निर्णय गर्ने जनाइएको छ।
राजमार्गमा आवागमन सहज बनाउन छिमेकी जिल्ला सिन्धुली र भक्तपुरका प्रहरी युनिटसँग समेत समन्वय गर्ने निर्णय भएको छ।
यसैबीच, नदी किनार तथा पहिरोको जोखिममा रहेका बस्तीका नागरिकलाई सम्भावित जोखिमबारे सचेत गराउन तथा जोखिमसम्बन्धी सूचना निरन्तर प्रवाह गर्न स्थानीय प्रशासनले सम्बन्धित निकायलाई आग्रह गरेको छ।
प्रहरीले राजमार्गको अवस्था बुझेर मात्रै दिउँसो यात्रा गर्न र वर्षाको समयमा अनावश्यक यात्रा नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।
