बनेपामा मौलिक जालुद्यो जात्रा सुरु

रथ परिक्रमा सम्पन्न भएपछि खट जात्रा गरी जालुद्योलाई पुण्यमाता खोलामा लगेर विधिपूर्वक विसर्जन

काठमाडौँ, असोज १० ।  काभ्रेपलाञ्चोकको बनेपामा नेवार समुदायको मौलिक सांस्कृतिक पर्व जालुद्यो जात्रा विधिपूर्वक पूजा गरी सुरु भएको छ ।

बनेपा नगरपालिका ५ स्वधा टोलस्थित दक्षिणकाली मन्दिरमा शुक्रबार साँझ नित्य पूजा तथा हाँसको बलिसहित पूजा आराधना गरी जात्रा सुरु गरिएको वडा नं ५ का वडाध्यक्ष बलराम अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार आज दिउँसो भातबाट तयार गरिएको जालुद्योको स्वरुप भक्तजनको दर्शनका लागि राखिनेछ ।

स्थानीय परम्पराअनुसार भातबाट देवताको स्वरुप तयार गरी विधिपूर्वक पूजा गर्ने तथा त्यसलाई रथमा राखेर जात्रामा सहभागी गराउने चलन रहेको बनेपा नगरपालिका ८ का वडाध्यक्ष शुभलक्ष्मी मानन्धराले बताउनुभयो । उहाँका अनुसार तीन दिनसम्म सञ्चालन हुने जात्रामा विभिन्न धार्मिक तथा सांस्कृतिक विधि पूरा गरिन्छ ।

असोज ११ गते साँझ जालुद्योलाई रथमा राखेर बनेपाका विभिन्न टोल तथा चोक परिक्रमा गराइनेछ । रथ परिक्रमा कार्यक्रममा स्थानीयवासी तथा श्रद्धालुको उल्लेख्य सहभागिता रहने उहाँले बताउनुभयो । परम्पराअनुसार रथ परिक्रमा सम्पन्न भएपछि खट जात्रा गरी जालुद्योलाई पुण्यमाता खोलामा लगेर विधिपूर्वक विसर्जन गरिनेछ ।

बनेपाको मौलिक सांस्कृतिक पहिचानसँग जोडिएको जालुद्यो जात्रा पुस्तौँदेखि स्थानीय समुदायले निरन्तरता दिँदै आएको पर्व हो । जात्राले स्थानीय संस्कार, संस्कृति र परम्परालाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको वडाध्यक्ष मानन्धराले बताउनुभयो ।

स्थानीय जनविश्वासअनुसार जालुद्यो जात्राको सम्बन्ध एक्लो छोरा भएका परिवारसँग जोडिएको छ । विगतमा राक्षसले एक्लो छोरा भएका परिवारका छोरालाई पालैपालो आफ्नो आहार बनाउने गरेको र उनीहरूलाई जोगाउन दक्षिणकाली माता जालुद्योको स्वरुपमा प्रकट भई राक्षसमाथि विजय प्राप्त गरेको विश्वासमा यो जात्रा मनाउन थालिएको मानन्धरले बताउनुभयो ।

“स्थानीय जनविश्वासअनुसार पहिले राक्षसले एक्लो छोरा भएका परिवारका छोरालाई पालैपालो आफ्नो आहार बनाउने गर्दथ्यो । त्यसबाट जोगाउन दक्षिणकाली माता जालुद्यो बनेर राक्षसमाथि विजय प्राप्त गरेको विश्वास रहिआएसँगै यो पर्व मनाउन थालिएको हो,” उहाँले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *