मनाङ पुगेका पर्यटक फर्किन थाले
यात्रा छोट्याएर पर्यटक लमजुङतर्फ
काठमाडौँ, असोज १३ । निरन्तरको वर्षासँगै मौसम प्रतिकूल बनेपछि अन्नपूर्ण चक्रीय पदमार्ग हुँदै मनाङ पुगेका विदेशी पर्यटकले यात्रा छोट्याएर लमजुङतर्फ फर्किन थालेका छन्।
थोराङ्ला भञ्ज्याङ पार गरी मुस्ताङ, पोखरालगायत गन्तव्यमा पुग्ने योजनासहित मनाङ पुगेका पर्यटक मौसममा आएको खराबी र पदमार्गमा बढेको जोखिमका कारण बीच बाटोबाटै फर्किन थालेका हुन्।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), धारापानीका इन्चार्ज भूपेन्द्र गुरुङका अनुसार असोज ६ देखि १२ गतेसम्म एक साताको अवधिमा २४६ विदेशी पर्यटक मनाङबाट लमजुङतर्फ फर्किएका छन्। फर्किनेमा १५१ पुरुष र ९५ महिला रहेका छन्।
केही दिनअघिसम्म धारापानी हुँदै दैनिक १०० देखि १५० जनासम्म विदेशी पर्यटक मनाङतर्फ जाने गरेकामा पछिल्लो समय उक्त सङ्ख्या घटेर दैनिक एक-दुई जनामा सीमित भएको गुरुङले बताउनुभयो। उहाँका अनुसार अधिकांश पर्यटक भने मनाङतर्फको यात्रा स्थगित गरी लमजुङतर्फ फर्किरहेका छन् ।
“केही दिनअघिसम्म दैनिकजसो १०० देखि १५० सम्म पर्यटक मनाङतर्फ जाने गरेका थिए । अहिले एक–दुई जना मात्रै मनाङतर्फ गएको देखिन्छ, अधिकांश फर्किन थालेका छन्”, इन्चार्ज गुरुङले भन्नुभयो ।
निरन्तरको वर्षा, मौसममा आएको खराबी तथा पदमार्गमा बढेको जोखिमका कारण थोराङ्ला भञ्ज्याङ हुँदै मुस्ताङलगायत गन्तव्यतर्फ जाने योजनामा रहेका पर्यटकले यात्रा छोट्याउन थालेका हुन् ।
लमजुङको बेँसीसहर नगरपालिका–७ बाट सुरु हुने अन्नपूर्ण चक्रीय पदमार्ग लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी र कास्की हुँदै जाने प्रमुख पदयात्रा मार्ग हो। यस पदमार्गको उच्चतम बिन्दु पाँच हजार ४१६ मिटर उचाइको थोराङ्ला भञ्ज्याङ हो। प्राकृतिक तथा सांस्कृतिक विविधताले सम्पन्न यस पदमार्गमा विदेशी पर्यटकको आकर्षण रहँदै आएको छ ।
