हर्मुज जलडमरूमध्यमा सात ट्याङ्करमा क्षति पुगेको इरानको दाबी: अमेरिकाद्वारा खण्डन

तेहरान / वासिङ्टन डीसी । इरान र अमेरिका-इजरायलबीच युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो क्षति भएको दाबी गर्दै इरानले हर्मुज जलडमरूमध्य  मा एकै दिन सातवटा तेल ट्याङ्करहरूमा क्षति पुगेको जनाएको छ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (IRGC) ले बिहीबार जारी गरेको विज्ञप्ति अनुसार तेल ओसारपसार गरिरहेका चारवटा पोतहरूलाई लक्षित गरी आक्रमण गर्दा ती जहाजमा आगो लागेको थियो भने अन्य तीनवटा जहाज बारुदी सुरुङ मा ठोक्किएर असक्षम भएका छन्। यद्यपि, यो दाबीको स्वतन्त्र पुष्टि हुन बाँकी छ र मानवीय क्षतिबारे कुनै विवरण दिइएको छैन।

अमेरिकी आधार शिविरमा आक्रमण गर्ने इरानको चेतावनी

IRGC ले आफ्नो आधिकारिक वेबसाइट ‘सिपाह न्युज’  मार्फत एक कडा चेतावनी दिँदै यदि अमेरिकी सेनाले जलडमरूमध्यबाट ट्याङ्करहरूलाई सुरक्षा  दिने कार्य जारी राखेमा मध्यपूर्वमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूमा आक्रमण गर्ने बताएको छ। “अमेरिकी सेनाले यो कुरा बुझ्नुपर्छ कि यदि यो स्थिति जारी रहेमा द्वन्द्व क्षेत्रभित्रका उसका आधार शिविरहरूसम्म फैलिनेछ,” IRGC ले भनेको छ।

विश्वको कुल तेल आपूर्तिको एक-चौथाई अंश ओसारपसार हुने यो रणनीतिक जलमार्गमा इरानले आफ्नो नियन्त्रण रहेको दाबी गर्दै आएको छ। अनुमतिविना प्रवेश गर्ने जहाजहरूमाथि इरानले निरन्तर आक्रमण गर्दै आएको छ भने अमेरिकी सेनाले ट्याङ्करहरूलाई सुरक्षा दिने क्रम बढाएपछि दुई देशबीच तनाव झनै चुलिएको छ।

अमेरिकाद्वारा दाबीको खण्डन: ट्रम्पको प्रतिक्रिया

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी दाबीको खण्डन गर्दै आगामी अमेरिकी मध्यावधि निर्वाचन (Midterm Election) अघि तेलको मूल्य बढाउन इरानले यस्तो प्रयास गरिरहेको आरोप लगाउनुभएको छ। ट्रम्पले ट्रुथ सोसलमा लेख्नुभएको छ, “इरानले नक्कली आक्रमण र बारुदी सुरुङका झूटा दाबीहरू गरिरहेको छ, जबकि अहिले युद्ध सुरु हुनुअघि भन्दा पनि बढी तेल हर्मुज जलडमरूमध्य भएर गइरहेको छ।”

अमेरिकी सेन्ट्रल कमान्डका एक प्रवक्ताले पनि इरानको बारुदी सुरुङसम्बन्धी दाबी असत्य रहेको बताउनुभएको छ। अमेरिकी सेनाले अन्तर्राष्ट्रिय जलमार्गबाट सुरुङहरू हटाइसकेको र इरानले क्षेप्यास्त्र तथा ड्रोनमार्फत आक्रमण गरिरहेको उहाँको भनाइ छ। ९५ प्रतिशत जलपोतहरू सुरक्षित रूपमा ओहोरदोहोर गरिरहेको र यो आक्रमण अमेरिकी नाकाबन्दीका कारण तेहरानको छटपटीको नतिजा भएको अमेरिकाको दाबी छ।

अमेरिकी राजनीति र बढ्दो आर्थिक दबाब

अन्तर्राष्ट्रिय विश्लेषकहरूका अनुसार अमेरिकी मध्यावधि निर्वाचन नजिकिँदै गर्दा युद्धको बढ्दो लागत र इन्धनको मूल्यवृद्धिलाई लिएर अमेरिकी जनतामा आक्रोश बढ्दै गएको छ।

अमेरिकी मतदाताहरू करदाताको पैसा युद्धमा खर्च नहोस् भन्ने चाहन्छन्, जसका कारण राष्ट्रपति ट्रम्पमाथि आफ्नै रिपब्लिकन पार्टी र विपक्षी दुवैतर्फबाट भारी दबाब सिर्जना भएको छ। अर्कोतर्फ, तेहरानले अमेरिकासँगको सम्भावित पूर्णकालीन युद्धका लागि पर्याप्त हातहतियार तयार राखिएको दाबी गर्दै आक्रमण तीव्र पार्ने सङ्केत दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *