म्याग्दीमा व्यावसायिक अलैँची खेती विस्तार हुँदै
मुसुङ गाउँमा परीक्षण
काठमाडौँ, कार्तिक ५ । बेनी नगरपालिका ३ मुसुङ गाउँमा परीक्षणका रूपमा गरिएको अलैँचीखेती सफल भएपछि किसानले व्यावसायिक उत्पादन विस्तार गर्न थालेका छन् । तीन वर्षअघि परीक्षणका रूपमा लगाइएको अलैँचीले राम्रो उत्पादन दिन थालेपछि स्थानीय किसान यस खेतीतर्फ आकर्षित भएका हुन् ।
बेनी नगरपालिका–३ का वडाध्यक्ष पदम पुनका अनुसार चारखोलास्थित ओसिलो उत्तिसको जङ्गलमा लगाइएको अलैँचीले राम्रो उत्पादन दिन थालेपछि अन्य किसानले पनि खेती विस्तार गर्न थालेका छन् ।
अनुकूल हावापानी, भौगोलिक अवस्था, बजारको उपलब्धता र उचित मूल्य पाउने सम्भावना देखिएपछि बाँझो जमिनको सदुपयोग गर्दै अलैँचीखेती विस्तार गरिएको वडाध्यक्ष पुनले बताउनुभयो। उहाँका अनुसार झाडीमा परिणत भएको जमिनमा झाडी फाँडेर २० रोपनीभन्दा बढी क्षेत्रफलमा अलैँची लगाइएको छ।
करिब ५० वर्षअघि गएको पहिरोले खेतीयोग्य जमिन नष्ट गरेपछि उक्त क्षेत्र झाडीमा परिणत भएको थियो। अहिले सोही जमिनलाई उपयोग गरी अलैँचीखेती सुरु गरिएपछि बाँझो जमिनको सदुपयोग हुनुका साथै स्थानीय किसानका लागि आम्दानीको नयाँ सम्भावना खुलेको छ ।
पूर्वी नेपालको कोशी प्रदेशका पहाडी जिल्लामा परम्परागत रूपमा खेती हुँदै आएको अलैँचीलाई यसको आर्थिक महत्वका कारण ‘कालो सुन’ भन्ने गरिन्छ । उचित हावापानी र ओसिलो वातावरणमा उत्पादन हुने अलैँचीलाई म्याग्दीमा व्यावसायिक रूपमा विस्तार गर्न सकिने सम्भावना देखिएको छ ।
कृषि प्राविधिकका अनुसार समुद्री सतहबाट ८०० देखि एक हजार ८०० मिटर उचाइ भएका ओसिला क्षेत्रमा अलैँचीखेती उपयुक्त हुन्छ। वार्षिक दुई हजारदेखि दुई हजार ५०० मिलिमिटरसम्म वर्षा हुने र शीतोष्ण तथा आर्द्र जलवायु भएको स्थानमा यसको उत्पादन राम्रो हुने गर्दछ ।
बेनी नगरपालिकाका कृषि अधिकृत आकृति ढुङ्गानाका अनुसार नेपालमा रामशाही, गोलशाही र डम्मरशाही जातका अलैँचीको खेती गरिन्छ। मुसुङ गाउँमा गरिएको परीक्षण सफल भएसँगै स्थानीयस्तरमा बाँझो जमिनको उपयोग, कृषि उत्पादन वृद्धि र किसानको आयआर्जन विस्तारका लागि अलैँचीखेती सम्भावनायुक्त विकल्पका रूपमा देखिएको छ ।
