थ्रेसर मेसिन सञ्चालन गरेर गाउँमै स्वरोजगार

कृषि सेवा व्यवसाय

काठमाडौँ, कार्तिक ६ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका १९ का अमजत अली शेखले थ्रेसर मेसिन सञ्चालन गरेर गाउँमै स्वरोजगार बन्नुभएको छ । विगत सात वर्षदेखि कृषि सेवा व्यवसायमा संलग्न उहाँले धानबालीको याममा थ्रेसर सञ्चालन गरेर आम्दानी गर्दै आउनुभएको छ ।

वैदेशिक रोजगारी तथा अन्य पेसाका लागि गाउँ छाड्ने युवाको सङ्ख्या बढिरहेका बेला शेखले स्थानीयस्तरमै कृषि सेवा व्यवसायबाट आम्दानी गर्न सकिने उदाहरण प्रस्तुत गर्नुभएको छ । उहाँले रु तीन लाख ५० हजार लगानी गरेर थ्रेसर मेसिन खरिद गर्नुभएको थियो । धानबालीको मुख्य याममा सम्पूर्ण खर्च कटाएर करिब रु एक लाख ५० हजारसम्म खुद मुनाफा हुने उहाँले बताउनुभयो ।

शेखले थ्रेसर सञ्चालन गरेबापत प्रतिघण्टा रु दुई हजार ५०० वा एक क्विन्टल धान झारेबापत १२ किलो धान सेवा शुल्कका रूपमा लिने गर्नुभएको छ । विशेषगरी धेरै जग्गा भएका र घरमा काम गर्ने जनशक्ति कम भएका किसानले थ्रेसरको बढी प्रयोग गर्ने गरेको उहाँको भनाइ छ । थ्रेसर मेसिनबाट एक घण्टामा १० कट्ठासम्मको धान झार्न सकिने उहाँले बताउनुभयो ।

थ्रेसरको प्रयोगले धान झार्ने काम छिटो हुनुका साथै श्रम, समय र खर्चसमेत बचत हुने गरेको छ । परम्परागत रूपमा धान झार्दा पराल दाइँ गर्नुपर्ने र धान केलाउनुपर्ने झन्झट हुने गरेकामा आधुनिक मेसिनले यी काम सहज बनाएको शेखले बताउनुभयो । यही सुविधाका कारण गाउँका किसानले थ्रेसर प्रयोग गर्न थालेका छन् ।

केही वर्षअघिसम्म किसानले काटेको धान एउटै स्थानमा जम्मा गरेर पालैपालो थ्रेसर चलाउने गरे पनि अहिले खेतखेतमै पुगेर सेवा दिनुपर्ने अवस्था रहेको शेखले बताउनुभयो । यसले इन्धन खर्च र समय बढाएको उहाँको भनाइ छ । सुरुमा आफ्नै गाउँमा सेवा दिँदै आउनुभएका उहाँकहाँ अहिले आसपासका अन्य गाउँबाट समेत थ्रेसरको माग आउने गरेको छ । धान झार्ने याममा बिहान ५ बजेदेखि राति १२ बजेसम्म किसानका खेतमा पुगेर सेवा दिने गरेको उहाँले बताउनुभयो ।

बाँकेका ग्रामीण क्षेत्रमा आधुनिक कृषि प्रविधिको प्रयोग बढ्दै जाँदा खेतीपातीको काम सहज हुन थालेको छ । नेपालगञ्ज–१९ सुईया गाउँका किसान ध्रुवकुमार थापा क्षेत्रीले पनि विगत एक दशकदेखि खेत जोत्न ट्र्याक्टर र धान तथा गहुँ झार्न थ्रेसर मेसिन प्रयोग गर्दै आउनुभएको छ । परम्परागत रूपमा अर्मपर्म र खेताला लगाएर खेती गर्दै आउनुभएका उहाँले आधुनिक प्रविधिको प्रयोगले कृषि कार्यमा सहजता थपेको बताउनुभयो ।

गाउँमा कृषि मजदुर पाउन कठिन हुँदै गएको र उपलब्ध मजदुरको ज्यालासमेत महँगो हुने गरेको क्षेत्रीको अनुभव छ । उहाँका अनुसार खेतालाले दैनिक रु ६०० देखि एक हजारसम्म ज्याला माग्ने गरेका छन् । मजदुर लगाएर काम गर्दा समय धेरै लाग्ने भए पनि थ्रेसरको प्रयोगबाट धान समयमै भित्र्याउन सहज भएको उहाँले बताउनुभयो ।

कृषिमा आधुनिक उपकरणको प्रयोगले श्रम अभावको समस्या कम गर्नुका साथै उत्पादन भित्र्याउने काम छिटो र सहज बनाउन सहयोग गरेको छ । शेखजस्ता युवाले कृषि यन्त्र सञ्चालनलाई व्यवसायका रूपमा अपनाउँदा गाउँमै रोजगारी र आम्दानीको अवसर सिर्जना हुनुका साथै किसानलाई समेत खेतीपातीमा सहजता पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *