फ्रान्समा सडकदेखि नगरपालिकासम्म आन्दोलनको राँको: पेरिसमा अश्रुग्याँस र स्टन ग्रेनेड प्रहार, फ्रान्सभर २५० भन्दा बढी पक्राउ
पेरिस, फ्रान्स । विद्यार्थी, शिक्षक, ट्रेड युनियन र सन् २०१८ को ‘येलो भेस्ट’ आन्दोलनका कार्यकर्ताहरू एकाकार भएपछि फ्रान्सभरि भड्किएको विरोध प्रदर्शनले हिंस्रक रूप धारण गरेको छ। राजधानी पेरिससहित देशका प्रमुख सहरहरूमा उत्रिएका हजारौँ प्रदर्शनकारी र प्रहरीबीच चौतर्फी झडप सुरु भएको छ।
पेरिसको ऐतिहासिक ‘प्लास दे ला रिपब्लिक’ चोक र वरपरका सडकहरूमा ठूलो सङ्ख्यामा दङ्गा नियन्त्रक प्रहरी परिचालन गरिएको छ। प्रदर्शन सुरु हुनासाथ हुड र मुकुन्डो लगाएका युवाहरूलाई रोक्न प्रहरीले व्यापक रूपमा अश्रुग्याँस र स्टन ग्रेनेड प्रहार गरेको छ।
शान्तिपूर्ण भनिएको प्रदर्शन यसरी बन्यो रणभूमि
अन्तर्राष्ट्रिय समाचार संस्था अल जजिराकी संवाददाता नताशा बट्लरका अनुसार पेरिसमा शान्तिपूर्ण रूपमा सुरु हुने अपेक्षा गरिएको प्रदर्शनले आकार लिनै नपाई प्रहरीले प्रदर्शनकारीहरूलाई चारैतिरबाट घेराबन्दी गरेको थियो। प्रहरीको पङ्क्तिबीच आन्दोलनकारीहरू थुनिएपछि स्थिति तनावग्रस्त बन्न पुगेको र दुवै पक्षबीच दोहोरो झडप सुरु भएको हो।
पेरिसमा मात्र नभई फ्रान्सका अन्य भागहरूमा पनि हिंसा फैलिएको छ:
-
मार्से (Marseille): दक्षिणी सहर मार्सेमा प्रदर्शनकारीहरूले नगरपालिकामै (Town Hall) जबर्जस्ती प्रवेश गरी तोडफोड गर्नुका साथै मुख्य व्यापारिक क्षेत्रका पसलहरू लुटेका छन्।
-
ल्योन (Lyon): ल्योन सहरमा रहेको स्थानीय पर्यटन कार्यालयको भवनमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन्।
-
रेन्स (Rennes): पश्चिमी सहर रेन्समा पनि सयौँ मानिसहरू सडकमा उत्रिएर सरकारविरोधी नाराबाजी गरिरहेका छन्।
बजेट सङ्कट र आगामी राष्ट्रपतीय निर्वाचनको छाया
फ्रान्सका लागि यो आन्दोलन एउटा अत्यन्तै ‘निर्णायक र संवेदनशील मोड’ मानिएको छ। फ्रान्सेली सरकार एकातिर राष्ट्रिय ऋणको विशाल भार घटाउन कठोर बजेट कटौतीका उपायहरू खोजिरहेको छ भने अर्कातिर सर्वसाधारण महँगी र खस्कँदो जीवनस्तरको मारमा परेका छन्।
त्यस्तै, अर्को वर्ष फ्रान्समा हुन गइरहेको राष्ट्रपतीय निर्वाचन को पूर्वसन्ध्यामा सुरु भएको यो ठूलो जनआन्दोलनले वर्तमान सरकारमाथि चौतर्फी दबाब सिर्जना गरेको छ।
फ्रान्सको गृह मन्त्रालयका अनुसार शनिबार मध्याह्नसम्म देशका १४० भन्दा बढी स्थानमा प्रदर्शनहरू भएका छन्, जसमा ३२ हजार ८ सयभन्दा बढी मानिसहरू प्रत्यक्ष सहभागी भएका छन्। मन्त्रालयले हालसम्म देशभरबाट २५० भन्दा बढी प्रदर्शनकारीहरूलाई पक्राउ गरिसकिएको पुष्टि गरेको छ।
“हामी कुन दिशातर्फ जाँदैछौँ?”
इन्धन तथा खाद्यान्न जस्ता अत्यावश्यक वस्तुको मूल्यवृद्धिको विरोधमा फ्रान्समा शनिबार विशाल देशव्यापी प्रदर्शन भएको छ। शैक्षिक संस्थाहरूको खराब अवस्थाको विरोध गर्दै हप्तौँदेखि सडकमा उत्रिएका उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरूको आन्दोलनसँगै अहिले आम नागरिकहरू पनि थपिएका छन्।
यसअघि भएका विद्यार्थी प्रदर्शनका क्रममा प्रहरीको दमनबाट कतिपय बालबालिकाहरू गम्भीर घाइते भएका थिए। प्रहरी कारबाहीका क्रममा १५ वर्षीया एक बालिकाले आफ्नो हातसमेत गुमाउनुपरेको थियो।
कतिपय स्थानमा झडप भए पनि शनिबारको प्रदर्शनमा मजदुर युनियन, शिक्षक, स्वास्थ्यकर्मी र सर्वसाधारण नागरिकहरूको ठूलो सङ्ख्यामा शान्तिपूर्ण सहभागिता रहेको छ। सन् २०१८ देखि २०२० सम्म इन्धनको मूल्यवृद्धिकै विरोधमा देशव्यापी आन्दोलन गरेका प्रख्यात ‘येलो भेस्ट’ (Yellow Vest) प्रदर्शनकारीहरूले पनि यस आन्दोलनमा पुनरागमन गर्दै ऐक्यबद्धता जनाएका छन्।
पेरिसस्थित ‘सेन्टर फर पोलिटिकल रिसर्च’का अनुसन्धानकर्ता ब्रुनो कोत्रेका अनुसार शनिबारको यो प्रदर्शन विद्यार्थी, शिक्षक, नर्स, किसान र ‘येलो भेस्ट’ लगायत विभिन्न क्षेत्रका असन्तुष्ट समूहहरूको ‘एकीकृत रूप’ हो।
उहाँका अनुसार फ्रान्सेली जनताहरू एकातिर उच्च कर तिर्न बाध्य छन् भने अर्कातिर सरकारको विशाल राष्ट्रिय ऋण र बजेट घाटाका कारण उनीहरूका माग पूरा हुन सकेका छैनन्। “फ्रान्सेली नागरिकहरू अहिले आफैँलाई प्रश्न गरिरहेका छन्—हामी एउटा देशका रूपमा कुन दिशातर्फ जाँदैछौँ? र यो बजेट सङ्कटबाट कसरी बाहिर निस्कने हो?” कोत्रेले भने।
राष्ट्रपति म्याक्रोँद्वारा संयमता अपनाउन अपिल
आन्दोलन भड्किँदै गएपछि प्रदर्शनको पूर्वसन्ध्यामा शुक्रबार ब्रसेल्सबाट बोल्दै राष्ट्रपति इमानुएल म्याक्रोँले शान्ति र संयमताका लागि अपिल गर्नुभएको छ।
“सडकमा उत्रिएर विरोध प्रदर्शन गर्ने र आफ्ना अभिव्यक्ति राख्ने नागरिकको संवैधानिक अधिकार हो,” राष्ट्रपति म्याक्रोँले भन्नुभयो, “तर यो अधिकारसँगै सम्मानको दायित्व पनि जोडिएर आउँछ—अन्य व्यक्तिप्रतिको सम्मान, भौतिक सम्पत्तिको रक्षा, र कसैलाई गालीगलौज वा तोडफोड नगर्ने प्रतिबद्धता आवश्यक छ।”
