चार दिनपछि खुल्यो बेनी–बाबियाचौर सडक, पश्चिम म्याग्दीमा यातायात सहज

म्याग्दी, १४ असोज । अविरल वर्षापछि अवरुद्ध बनेको बेनी–बाबियाचौर सडक चार दिनपछि सञ्चालनमा आएको छ । सडक खुलेसँगै म्याग्दीको पश्चिमी क्षेत्रका तीन स्थानीय तहका बासिन्दाको आवतजावत सहज भएको छ ।

पूर्वाधार विकास कार्यालयले बेनीदेखि मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौर हुँदै पानाबगरसम्मको करिब १६ किलोमिटर सडक मर्मत गरी मंगलबार साँझदेखि यातायात सञ्चालनमा ल्याएको हो ।

असोज १० गतेदेखि सडक अवरुद्ध हुँदा मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाका साथै बागलुङको तमानखोला गाउँपालिकासम्मको यातायात प्रभावित भएको थियो ।

म्याग्दी–१(ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन)का अनुसार अब पानाबगर–रणबाङ–दुखु–रातोढुङ्गा–तोलाबाङ–बाङ्गेपहिरो खण्डमा दुईतर्फबाट उपकरण परिचालन गरी मर्मतलाई तीव्रता दिइनेछ ।

उनका अनुसार पहिरो प्रभावित क्षेत्रमा उद्धार तथा राहतसँगै जनजीवन सहज बनाउन मुख्यमन्त्री तथा भौतिक पूर्वाधार मन्त्रालयसँग समन्वय गरी सडक सञ्चालनमा ल्याउने काम भइरहेको छ । मङ्गला, मालिका र धवलागिरि क्षेत्रमा उपलब्ध उपकरणलाई खण्डखण्डमा परिचालन गरिएको छ ।

यसैबीच, बेनी–जोमसोम–कोरला सडकमा पनि वर्षा र बाढीले क्षति पुर्‍याएको छ । तिल्केनीचौरमा कालीगण्डकीले सडक कटान गर्नुका साथै पोखरेबगरमा सडक पुलको पहुँचमार्ग र खामभित्तामा सडक कटान भएको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताए ।

क्षतिको अध्ययन गरी मर्मत अघि बढाउन सङ्घीय सरकारले पठाएको प्राविधिक टोली मंगलबार म्याग्दी पुगेको छ । बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङको यातायात सम्पर्क प्रभावित भएको छ ।

सडक अवरोधका कारण कोरला नाकाबाट हुने आयात–निर्यात प्रभावित हुनुका साथै मुस्ताङबाट स्याउ र च्याङ्ग्रा बजार पठाउन समस्या भएको छ । सोह्रश्राद्धका बेला कागबेनीमा हुने धार्मिक गतिविधि र शरद् ऋतुको पर्यटनसमेत प्रभावित हुने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *