नेप्से २६०० विन्दुमुनि झर्यो, कारोबार रकम भने बढ्यो
काठमाडौं, १४ असोज । साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक घटेर २६०० विन्दुमुनि झरेको छ । नेप्से नौ कारोबार दिनपछि २६०० विन्दुमुनि बन्द भएको हो । यसअघि भदौ २९ गते नेप्से २६०० विन्दुमुनि पुगेर बन्द भएको थियो ।
बुधबार नेप्से ४.८२ अंकले घटेर २५९८.८९ विन्दुमा कायम भएको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स २.०२ अंक, फ्लोट इन्डेक्स ०.४३ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.६५ अंकले घटेका छन् ।
नेप्से घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ । मंगलबार ४ अर्ब ६५ करोड रुपैयाँबराबरको कारोबार भएकोमा बुधबार ३५२ स्टकको ४७ हजार ९०० पटकको कारोबारबाट ४ अर्ब ७६ करोड ५१ लाख २७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यस क्रममा १ करोड २६ लाख ५५ हजार कित्ता शेयर खरिदबिक्री भएका छन् ।
बुधबार सिन्धु विकास बैंकको शेयरमूल्य सर्वाधिक १४.३७ प्रतिशतले बढेको छ । सयपत्री हाइड्रोपावरको शेयरमूल्य करिब साढे ८ प्रतिशत तथा घलेम्दी हाइड्रोको करिब साढे ७ प्रतिशत बढेको छ । घटेका कम्पनीको शेयरमूल्यमा भने ४ प्रतिशतभन्दा बढीको गिरावट देखिएन ।
कारोबार रकमका आधारमा घलेम्दी हाइड्रो शीर्ष स्थानमा रह्यो । कम्पनीको ३९ करोड ४८ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । त्यस्तै, पिपुल्स हाइड्रोपावरको करिब २३ करोड रुपैयाँ र मञ्जुश्री फाइनान्सको १८ करोड ५० लाख रुपैयाँभन्दा बढीको संस्थापक शेयर कारोबार भएको छ ।
१३ उपसमूहमध्ये तीन उपसमूहको परिसूचक बढ्दा १० उपसमूह घटेका छन् । व्यापार उपसमूह सर्वाधिक १.१८ प्रतिशतले बढेको छ । जलविद्युत् र म्युचुअल फन्ड उपसमूह पनि सामान्य बढेका छन् ।
