गल्छी–बेत्रावती सडकमा ट्रयाक खुल्यो, बेलिब्रिज जडानको तयारी

काठमाडौँ, १५ असोज । रसुवा बाढीका कारण क्षतिग्रस्त गल्छी–बेत्रावती सडकखण्डमा ट्रयाक खोल्ने काम सम्पन्न भएको छ । ट्रयाक खुलेसँगै सडकखण्डमा सर्वसाधारणको आवतजावतसमेत सुरु भएको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जानकारी दिनुभयो ।

रसुवासँग जोडिने प्रमुख सडक मार्गका रूपमा रहेको उक्त सडकखण्डमा ट्रयाक खुले पनि ग्रेड मिलाउने र ग्राभेल हाल्ने काम भने बाँकी रहेको मन्त्री लम्सालले बताउनुभयो । सडक निर्माण तथा मर्मतको काम भइरहेका बेला बाक्लो सवारीसाधन आवतजावत हुँदा निर्माण कार्य प्रभावित भइरहेको भन्दै उहाँले आवश्यक सहजीकरण गरिदिन आग्रह गर्नुभएको छ ।

यसैबीच, ट्रयाक खोल्ने काम सम्पन्न भएसँगै सडकखण्डमा बेलिब्रिज जडानको तयारीसमेत अघि बढाइएको छ । नुवाकोटतर्फ बेलिब्रिज निर्माणका लागि फाउन्डेसन तयार भइसकेको छ भने नेपाली सेनाको सहयोगमा बेलिब्रिज जडानको तयारी सुरु गरिएको छ ।

रसुवातर्फ बेलिब्रिजको फाउन्डेसन निर्माण कार्यसमेत अन्तिम चरणमा पुगेको मन्त्री लम्सालले जानकारी दिनुभयो । निर्माण कार्यलाई तीव्रता दिँदै आगामी एक साताभित्र बेलिब्रिज जडान सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको छ ।

बाढीका कारण सडक संरचनामा क्षति पुगेपछि रसुवा आवतजावत प्रभावित हुँदै आएको थियो । ट्रयाक खुलेसँगै यातायात सञ्चालनमा सहजता आउने तथा बेलिब्रिज जडानपछि सडकमार्ग थप व्यवस्थित हुने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *