नेप्से ११ अंकभन्दा बढीले घट्यो, कारोबार रकम पनि खुम्चियो

काठमाडौँ, १७ असोज। साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक ११.९० अंकले घटेर २ हजार ५८७.२५ विन्दुमा झरेको छ। अघिल्लो दिन करिब स्थिर रहेको बजार शुक्रबार भने ओरालो लागेको हो।

यस दिन सेन्सेटिभ इन्डेक्स १.७४ अंक, फ्लोट इन्डेक्स ०.८१ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.७१ अंकले घटेका छन्।

नेप्सेसँगै कारोबार रकममा समेत कमी आएको छ। शुक्रबार ३५६ स्टकको ४३ हजार ६८५ पटकको कारोबारमा १ करोड १९ लाख १२ हजार कित्ता शेयर खरिदबिक्री हुँदा कुल ४ अर्ब २९ करोड ३७ लाख ७४ हजार रुपैयाँको कारोबार भएको छ। बिहीबार ४ अर्ब ८९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।

यस दिन १०.७५ प्रतिशत एनएमबी डिबेञ्चर २०८९/९० को मूल्य सर्वाधिक १४.२९ प्रतिशत बढेको छ। १०.७५ प्रतिशत एसबीएल डिबेञ्चर २०८९ को मूल्य करिब नौ प्रतिशत र माण्डु हाइड्रोपावरको शेयरमूल्य करिब साढे पाँच प्रतिशत बढेको छ।

कारोबारमा आएको सिन्धु विकास बैंकको शेयरमूल्य भने सर्वाधिक ८.५५ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा १०.७५ प्रतिशत एसबीएल डिबेञ्चर २०८९ शीर्ष स्थानमा रह्यो। उक्त ऋणपत्रको २६ करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। यस्तै, रिलायन्स स्पिनिङ मिल्सको करिब साढे १५ करोड र आँखुखोला जलविद्युत् कम्पनीको करिब १५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूह घटेका छन्। म्युचुअल फन्ड र व्यापार उपसमूह सामान्य बढ्दा उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ०.७३ प्रतिशत घटेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *