विश्वकप लिग–२ खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ
काठमाडौँ, १८ असोज । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत एकदिवसीय शृङ्खला खेल्न जाने नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको बिदाइ गरिएको छ।
काठमाडौँमा आज आयोजित कार्यक्रममा नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्कालगायत पदाधिकारीले नेपाली टोलीलाई बिदाइ गरेका हुन्।
बिदाइ समारोहमा क्यान अध्यक्ष चन्दले नेपाली खेलाडी पछिल्लो समय उच्च लयमा रहेकाले लिग–२ शृङ्खलामा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले टोलीलाई शुभकामनासमेत दिनुभयो।
लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमान र क्यानडासँग प्रतिस्पर्धा गर्नेछ। नेपालले असोज २५ गते क्यानडासँग, असोज २७ गते ओमानसँग, असोज ३१ गते पुनः क्यानडासँग तथा कात्तिक २ गते ओमानसँग खेल्नेछ।
एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउने दृष्टिले नेपालका लागि आगामी शृङ्खला महत्वपूर्ण मानिएको छ।
