प्रस्तावित राजदूतको संसदीय सुनुवाइ असोज २६, २७ र २८ गते हुने

काठमाडौँ, २० असोज । सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ असोज २६, २७ र २८ गते गर्ने भएको छ।

समितिको आज बसेको बैठकमा सभापति बोधनारायण श्रेष्ठले असोज २६ र २७ गते सामान्य प्रकृतिका उजुरी वा सुझाव परेका प्रस्तावित राजदूतहरूको सुनुवाइ गर्ने गरी तयारी भइरहेको जानकारी दिए। गम्भीर प्रकृतिका उजुरी परेकाहरूको सुनुवाइ भने असोज २८ गते हुने र उपसमिति बनाउनुपर्ने खालका मामिलामा दसैँपछि मात्र सुनुवाइ हुने उनले बताए।

श्रेष्ठका अनुसार केही उजुरी सामान्य प्रकृतिका रहेका छन् भने केहीमा समितिले छुट्टै अध्ययन गर्नुपर्ने अवस्था छ। जटिल प्रकृतिका उजुरी परेका विषयलाई छुट्टै अध्ययनका लागि राखेर अन्य सुनुवाइ भने तोकिएकै समयमा अघि बढाउन सकिने उनको भनाइ छ।

सभापति श्रेष्ठले समितिका सदस्यहरूलाई बिदाको समयमा समेत प्रस्तावित राजदूतसम्बन्धी विषय अध्ययन गर्न आग्रह गरे। प्रस्तावित राजदूतविरुद्ध प्राप्त उजुरी र उनीहरूले पेस गरेको कार्ययोजनासम्बन्धी विवरण समितिका सदस्यलाई अध्ययनका लागि उपलब्ध गराइसकिएको उनले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *