कोरला नाकादेखि लेतेसम्म पाँच सय कन्टेनर सडकमै अलपत्र, दसैँका सामान ढुवानी प्रभावित
मुस्ताङ, २१ असोज । मुस्ताङको लेतेदेखि चीनसँगको कोरला नाकासम्म करिब पाँच सय कन्टेनर सडकमा लामबद्ध रूपमा रोकिएका छन्। असोज ८ देखि ११ गतेसम्म परेको भारी वर्षापछिको बाढी, पहिरो र हिमपातका कारण सडक अवरुद्ध भएपछि ती कन्टेनर एक सातादेखि जिल्लाका विभिन्न स्थानमा रोकिएका हुन्।
म्याग्दीको पोखरेबगर, कुनौटे, बैसरीलगायतका स्थानमा बाढीपहिरोबाट क्षतिग्रस्त सडक मर्मत भइरहेको छ। सडक पूर्ण रूपमा सञ्चालनमा आउन अझै एक साता लाग्ने सडक आयोजनाका प्राविधिकहरूले बताएका छन्।
बेनी–जोमसोम सडक सञ्चालनमा नआउँदा ७० भन्दा बढी कन्टेनर तथा एक सयभन्दा बढी विद्युतीय सवारीसाधन जोमसोमस्थित बसपार्कमा रोकिएका छन्।
बेनी–जोमसोम सडक अवरुद्ध रहे पनि कोरलानाकाबाट केही मालवस्तु बोकेका कन्टेनर भने जोमसोम ल्याइएको छ। कालीगण्डकी करिडोर सडक आयोजनाले जोमसोम–कोरला खण्डमा अवरुद्ध सडक मर्मत गरेपछि मुस्ताङ भन्सार बन्दरगाहमा रोकिएका केही मालवाहक कन्टेनर जोमसोम ल्याइएको हो।
यसअघि बाढीपहिरोका कारण कोरला नाका क्षेत्रमा विद्युत् र इन्टरनेट सेवा अवरुद्ध हुँदा चीनबाट ल्याइएका सामानको भन्सार जाँचपास हुन सकेको थिएन। त्यसका कारण सयौँ कन्टेनर नाकामै रोकिएका थिए।
भारी वर्षापछिको बाढी, पहिरो र नदी कटानले म्याग्दी खण्डका दर्जनौँ स्थानमा विद्युत्का पोलमा क्षति पुगेपछि मुस्ताङमा एक सातासम्म केन्द्रीय ३३ केभी विद्युत् प्रसारण लाइन र इन्टरनेट सेवा अवरुद्ध भएको थियो। विद्युत् र इन्टरनेट अवरुद्ध हुँदा उपल्लो मुस्ताङ भन्सार कार्यालयको नियमित सेवा समेत प्रभावित हुँदै आएको थियो।
दसैँ–तिहारका सामान समयमै नपुग्ने चिन्ता
कोरलानाकामा रोकिएका कन्टेनरका चालक गोविन्द गुरुङका अनुसार चीनबाट कोरलानाका हुँदै नेपाल भित्र्याइएका मालवस्तु बोकेका करिब ३०० कन्टेनर र दुई सयभन्दा बढी विद्युतीय सवारीसाधन अझै भन्सार जाँचपासका लागि रोकिएका छन्।
दसैँ–तिहारलाई लक्षित गरी चीनबाट आयात गरिएका सामान समयमै गन्तव्यमा पुर्याउन नसक्दा व्यवसायी मात्र नभई उपभोक्ता पनि प्रभावित भएका छन्। चाडपर्वका लागि आवश्यक सामग्री समयमै बजारमा पुग्न नसक्दा उपभोक्ताले आफूले चाहेका सामान खरिद गर्न नपाउने अवस्था बनेको छ। ढुवानी अवरुद्ध हुँदा यसको प्रत्यक्ष असर नेपाली बजारमा समेत परेको व्यवसायीहरू बताउँछन्।
