नेप्से १७ अंकले बढ्यो, कारोबार रकम ४ अर्ब ८३ करोड नाघ्यो

काठमाडौं, २३ असोज । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार परिसूचक नेप्से बढेर बन्द भएको छ। अघिल्लो दिन सामान्य अंकले बढेको बजारले शुक्रबार पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

शुक्रबार नेप्से परिसूचक १७.१५ अंकले बढेर २ हजार ५९१.८० विन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स ३.८० अंक, फ्लोट इन्डेक्स १.४२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.५० अंकले बढेका छन्।

नेप्सेसँगै यस दिन कारोबार रकममा पनि वृद्धि भएको छ। बिहीबार ३ अर्ब ९३ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा शुक्रबार ४ अर्ब ८३ करोड ७७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

यस दिन ३५३ कम्पनीका १ करोड २९ लाख ५ हजार कित्ता सेयर ५२ हजार ४४ पटकको कारोबारमा किनबेच भएका हुन्। शुक्रबार मूल्य बढेका कम्पनीको सेयरमूल्य वृद्धिदर ५ प्रतिशतभन्दा कम रहेको छ। यस दिन कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ४.९१ प्रतिशत बढेको छ। अघिल्लो दिन उक्त कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको थियो।

त्यस्तै, सिन्धु विकास बैंक र सोलु हाइड्रोपावरको सेयरमूल्य ४ प्रतिशतभन्दा बढीले बढेको छ। यता, कारोबारमा आएको रिज लाइन इनर्जीको सेयरमूल्य सर्वाधिक ७.८५ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा शुक्रबार कुमारी बैंक शीर्ष स्थानमा रहेको छ। बैंकको २१ करोड ११ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ।

त्यस्तै, घलेम्दी हाइड्रोको कारोबार रकम २० करोड रुपैयाँ नाघेको छ भने हिमालयन डिस्टिलरीको करिब १९ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको छ।

शुक्रबार नेप्सेका १३ वटै उपसमूहका परिसूचक बढेका छन्। जसमध्ये बैंकिङ उपसमूहको परिसूचक सर्वाधिक १.२८ प्रतिशतले बढेको छ।

त्यस्तै, होटल तथा पर्यटन उपसमूहको परिसूचक करिब १ प्रतिशतले बढेको छ भने बाँकी उपसमूहका परिसूचकमा सामान्य वृद्धि देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *