अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनको तयारी पूरा : सङ्घीयता सुदृढीकरणमा छलफल हुने
अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलन
काठमाडौँ, असोज २५ । कोशी प्रदेश सरकारको आयोजनामा असोज २७ र २८ गते विराटनगरमा हुने अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ। सम्मेलनमा सङ्घीय शासन प्रणालीको प्रभावकारी कार्यान्वयन, प्रदेशहरूबीचको सहकार्य तथा समन्वय र प्रदेशका अधिकारको उपयोगलगायत विषयमा छलफल गरिने भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन २०८३ को सचिवालयले आज पत्रकार सम्मेलन गरी सम्मेलनको तयारी पूरा भएको जानकारी दिएको हो ।
सम्मेलनका संयोजक एवं प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौलाका अनुसार सङ्घीय शासन प्रणालीलाई थप प्रभावकारी बनाउँदै प्रदेशहरूबीच आपसी सहकार्य, समन्वय र साझेदारी सुदृढ गर्न सम्मेलनले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। संविधानले परिकल्पना गरेको सहकारिता, सहअस्तित्व र समन्वयमा आधारित सङ्घीयताको प्रभावकारी कार्यान्वयनमा सम्मेलन केन्द्रित हुने उहाँले बताउनुभयो ।
सम्मेलनमा प्रदेशहरूले सङ्घीयता कार्यान्वयनका क्रममा हासिल गरेका अनुभव, सफल अभ्यास र साझा चुनौतीबारे छलफल हुनेछ। संविधानप्रदत्त प्रदेशका अधिकारको प्रभावकारी प्रयोग, सङ्घ, प्रदेश र स्थानीय तहबीच अधिकार तथा जिम्मेवारीको स्पष्टता, आवश्यक कानुनी तथा नीतिगत सुधार र वित्तीय सङ्घीयताको प्रभावकारी कार्यान्वयनलाई प्रमुख छलफलका विषय बनाइने जनाइएको छ ।
त्यसैगरी, प्रदेशको आन्तरिक स्रोत परिचालन, साझा हितका विकास आयोजना तथा कार्यक्रमको पहिचान र कार्यान्वयन, अन्तरप्रदेशीय पूर्वाधार विकास, व्यापार तथा लगानी सहजीकरण र प्राकृतिक स्रोतको न्यायोचित उपयोग एवं लाभ बाँडफाँटबारे पनि छलफल गरिनेछ । विपद् व्यवस्थापनमा सहकार्य, सुशासन प्रवर्द्धन र सार्वजनिक सेवा प्रवाहमा नवीन अभ्यासको आदानप्रदानलाई समेत सम्मेलनले प्राथमिकता दिनेछ ।
प्रदेश सरकारको कार्यसम्पादन प्रभावकारी बनाउँदै नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी गुणस्तरीय सार्वजनिक सेवा प्रवाह सुनिश्चित गर्नु सम्मेलनको अर्को उद्देश्य रहेको संयोजक निरौलाले बताउनुभयो । विकासका उपलब्धि जनतासम्म पुर्याउने तथा प्रदेशको आन्तरिक आय अभिवृद्धिका सम्भावना पहिचान गरी स्रोत परिचालन गर्ने विषयमा पनि सम्मेलनमा छलफल हुनेछ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सम्मेलनमा सातवटै प्रदेशका मुख्यमन्त्री, मुख्य न्यायाधिवक्ता, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष र प्रमुख सचिवहरूको सहभागिता रहने जानकारी दिनुभयो। उहाँले सम्मेलनबाट सङ्घीयता कार्यान्वयनका साझा समस्या पहिचान गरी समाधानका लागि साझा धारणा निर्माण हुने विश्वास व्यक्त गर्नुभयो ।
मुख्यमन्त्री कार्कीका अनुसार सम्मेलनमा प्रस्तुत गरिने साझा एजेन्डा, प्रस्तावित कार्ययोजना र प्रतिबद्धतामार्फत प्रदेशहरूबीचको सहकार्यलाई नियमित, व्यवस्थित र परिणाममुखी बनाउने दिशामा ठोस पहल गरिनेछ । सङ्घीय शासन प्रणालीलाई थप सुदृढ, प्रभावकारी र नागरिकमैत्री बनाउन सम्मेलन उपयोगी हुने उहाँको भनाइ छ ।
पत्रकारहरूसँगको कुराकानीमा मुख्यमन्त्री कार्कीले सङ्घीयताको सुदृढीकरण, सुशासन, दिगो विकास, आर्थिक समृद्धि र नागरिकको जीवनस्तर सुधारका साझा लक्ष्य हासिल गर्न सम्मेलनलाई उपलब्धिमूलक बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
