दसैँमा गाउँ फर्किनेको लर्को, नयाँबसपार्कबाट नौ दिनमा २ लाखभन्दा बढी यात्रु बाहिरिए
काठमाडौं, २६ असोज । बडादसैँ नजिकिएसँगै काठमाडौंको नयाँबसपार्कबाट आफ्नो घरगाउँ फर्किने यात्रुको चाप बढेको छ। अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा राजधानीमा बस्दै आएका मानिसहरू दसैँ मनाउन धमाधम गाउँ फर्किन थालेका हुन्।
नयाँबसपार्कबाट देशका विभिन्न जिल्लामा जाने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुको चहलपहल बढेको छ। परिवार र आफन्तसँग भेटघाट गरी चाडपर्व मनाउन घर फर्किने यात्रुको सङ्ख्या बढ्दै गएको हो।
नयाँबसपार्क सञ्चालन गर्दै आएको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पङ्कज मल्लका अनुसार असोज १७ देखि २५ गतेसम्म नयाँबसपार्कबाट मात्रै दुई लाख सात हजार २५१ यात्रु बाहिरिएका छन्।
उहाँले दिएको जानकारीअनुसार असोज १७ गते १८ हजार ७२९, १८ गते १९ हजार ५३०, १९ गते २३ हजार १६, २० गते २९ हजार ६०२ र २१ गते २२ हजार २८८ यात्रु बाहिरिएका थिए।
त्यस्तै, असोज २२ गते २५ हजार २०१, २३ गते ३१ हजार २३५, २४ गते १६ हजार ९७० र २५ गते २९ हजार ३८० यात्रु नयाँबसपार्कबाट बाहिरिएको मल्लले जानकारी दिनुभयो।
सडक अवरुद्ध हुँदा यातायात व्यवस्थापनमा समस्या
दसैँका लागि घर फर्किने यात्रुको सङ्ख्या बढेसँगै यातायात व्यवसायीलाई यात्रु व्यवस्थापन गर्न कठिनाइ भएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमले सडकको अवस्थाका कारण यातायात व्यवस्थापनमा समस्या भइरहेको बताउनुभयो।
उहाँका अनुसार असोज २३ गते अग्रिम बस टिकट बुकिङ खुला भएकै दिन धादिङको गलौँदीस्थित पृथ्वी राजमार्ग भासिएर सवारी आवागमन अवरुद्ध भएको थियो। त्यसका कारण धेरै सवारीसाधन काठमाडौंमै रोकिँदा यातायात व्यवस्थापनमा थप समस्या भएको उहाँले बताउनुभयो।
महासङ्घले यात्रुलाई टिकट काटेर मात्रै यात्रा गर्न, तोकिएको भाडा तिर्न र यात्राअघि सवारीसाधनको अवस्था जाँच गर्न आग्रह गरेको छ।
दसैँले परिवार, आफन्त र समुदायबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने भएकाले रोजगारी तथा अध्ययनका लागि राजधानीमा बसोबास गर्दै आएका मानिसहरू हरेक वर्ष चाडपर्व मनाउन आफ्नो घर फर्किने क्रम बढ्ने गरेको छ।
