चार महिनापछि पुनः सञ्चालनमा आयो रेसुङ्गा विमानस्थलको हवाई सेवा

गुल्मी, २७ असोज । प्रतिकूल मौसमका कारण करिब चार महिनादेखि अवरुद्ध गुल्मीको रेसुङ्गा विमानस्थलको हवाई सेवा मंगलबारदेखि पुनः सञ्चालनमा आएको छ।

रेसुङ्गा विमानस्थलका स्टेसन प्रमुख सुमन थापाका अनुसार गत जेठको तेस्रो सातादेखि जिल्लामा हवाई उडान अवरुद्ध भएको थियो। खराब मौसम, बाक्लो कुहिरो र हावाको चापका कारण उडान सञ्चालनमा समस्या आउन सक्ने भएकाले सेवा रोक्नुपरेको उहाँले बताउनुभयो।

हवाई सेवा पुनः सञ्चालनमा आएसँगै मंगलबार काठमाडौंँबाट १३ यात्रु बोकेर विमान गुल्मीमा अवतरण गरेको थियो। गुल्मीबाट भने दुई यात्रु लिएर विमान काठमाडौंँ फर्किएको छ।

नेपाल वायुसेवा निगमले मौसम अनुकूल भएसँगै सातामा तीन दिन उडान गर्ने गरी नयाँ तालिका निर्धारण गरेको छ। लामो समय हवाई सेवा अवरुद्ध हुँदा वृद्धवृद्धा, बिरामी तथा अत्यावश्यक कामले काठमाडौंँ जानुपर्ने यात्रु बढी प्रभावित भएका थिए।

रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमले १८ सिट क्षमताको ट्विनअटर विमानमार्फत काठमाडौंँ–गुल्मी र गुल्मी–काठमाडौंँ उडान गर्दै आएको छ।

निगमले मंगलबारदेखि लागू हुने गरी उडान समयतालिका परिवर्तन गरेको छ। नयाँ तालिकाअनुसार आइतबार र मंगलबार काठमाडौंँबाट रेसुङ्गाका लागि बिहान ७ः१५ बजे तथा रेसुङ्गाबाट काठमाडौंँका लागि बिहान ८ः१५ बजे उडान हुनेछ।

त्यस्तै, शुक्रबार काठमाडौंँबाट रेसुङ्गाका लागि बिहान ६ः२० बजे र रेसुङ्गाबाट काठमाडौंँका लागि बिहान ७ः२० बजे उडान हुने व्यवस्था गरिएको छ।

निगमले काठमाडौंँबाट गुल्मीका लागि १० हजार ७१० रुपैयाँ र गुल्मीबाट काठमाडौंँका लागि १० हजार ५१० रुपैयाँ हवाई भाडा निर्धारण गरेको छ।

रेसुङ्गा विमानस्थलबाट हवाई सेवा सञ्चालनमा आएपछि गुल्मी तथा आसपासका क्षेत्रका नागरिकलाई काठमाडौंँ आवतजावत गर्न सहज भएको छ। सडकमार्गबाट राजधानी पुग्न १२ देखि १६ घण्टासम्म लाग्ने यस क्षेत्रका नागरिक हवाई यात्रामार्फत ४५ देखि ५० मिनेटमै काठमाडौंँ पुग्न सक्नेछन्।

नेपाल वायुसेवा निगमले २०८० वैशाख २९ गतेदेखि गुल्मीमा व्यावसायिक हवाई सेवा सुरु गरेको थियो। यद्यपि, पछिल्लो समय इन्धनको मूल्यवृद्धि, सडक पूर्वाधारको स्तरोन्नति तथा आरामदायी सार्वजनिक यातायातका साधन सहज रूपमा उपलब्ध हुन थालेपछि रेसुङ्गा विमानस्थलबाट हवाई यात्रा गर्ने यात्रुको सङ्ख्यामा कमी आएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *