एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते काठमाडौंमा हुने
काठमाडौं, २७ असोज । नेकपा (एमाले) ले आगामी मङ्सिर २ र ३ गते काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने भएको छ।
पार्टीको स्थायी कमिटीको प्रथम बैठकले गरेको निर्णय कार्यान्वयनका क्रममा भेलाको मिति र स्थान तय गरिएको एमाले सङ्गठन विभाग प्रमुख भानुभक्त ढकालले जानकारी दिनुभयो।
अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा असोज २२ देखि २५ गतेसम्म बसेको स्थायी कमिटीको प्रथम बैठकले केन्द्रीय कमिटीमा मनोनयन, स्थानीय तहका कमिटीको अधिवेशन तथा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्नेलगायतका निर्णय गरेको थियो।
सङ्गठन विभाग प्रमुख ढकालका अनुसार राष्ट्रिय कार्यकर्ता भेलामा प्रदेश कमिटीका पदाधिकारी, जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष तथा उपाध्यक्ष र सबै तहका जनप्रतिनिधि सहभागी हुनेछन्।
