आज पञ्चमीका दिन पचली भैरव जात्रा, राति हनुमानढोका पुर्याइने
घटस्थापनादेखि सुरु भएको पचली भैरव जात्रा आज पञ्चमीका दिन विशेष विधिपूर्वक मनाइँदै। टेकुस्थित गम्येबाट घ्याम्पो उठाई विभिन्न बाजागाजा र भक्तजनसहित नगर परिक्रमा गराइने। आज राति पचली भैरवलाई हनुमानढोका पुर्याई राँगोको बलिसहित पूजाआजा गरिने। कुमारी दर्शन र श्वेत भैरवको परिक्रमापछि देवतालाई पुनः एक वर्षका लागि भित्र्याइने परम्परा।
काठमाडौँ, असोज २९। काठमाडौँको ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको पचली भैरव जात्रा सुरु भएको छ। बडादसैँको घटस्थापनादेखि सुरु भएको जात्राअन्तर्गत आज पञ्चमीका दिन पचली भैरवलाई नगर परिक्रमा गराई राति हनुमानढोका पुर्याइने कार्यक्रम छ।
काठमाडौँको दक्षिण भेगका रक्षकका रूपमा पूजित पचली भैरवलाई विभिन्न धार्मिक विधि तथा परम्परागत बाजागाजासहित जात्रा गरी हनुमानढोका पुर्याउने परम्परा छ। आज गणेश, माली (गठु), द्यौसीं (ज्यापू), गोरखा पल्टन तथा स्थानीयवासीको सहभागितामा टेकुस्थित पचलीको गम्येबाट घ्याम्पो उठाई नगर परिक्रमा गराइँदै छ।
हनुमानढोका दरबार संरक्षण कार्यालयको व्यवस्थापनमा देवतालाई राँगोको बलि दिई पूजाआजा गरिनेछ। त्यसपछि जीवित देवी कुमारीको दर्शन गराई बसन्तपुरस्थित श्वेत भैरवको परिक्रमा गराउने र न्हूँघः छेंमा लशकुस गरी पचली भैरवलाई पुनः एक वर्षका लागि भित्र्याउने परम्परा छ।
जात्राअन्तर्गत असोज २५ गते घटस्थापनाका दिन गुथियारको पूजापछि पचली भैरवलाई बाकुनिन छेंबाट कोहिति पुँतय् (चित्रकार) को स्थानमा विराजमान गराइएको थियो। असोज २७ गते बिहान गुरुजु पल्टनको साइतमा यःसिँ (लिङ्गो) उठाइएपछि जात्राका थप धार्मिक तथा सांस्कृतिक गतिविधि सुरु भएका थिए।
असोज २८ गते चित्रकारको घरबाट देवतालाई कोहितिस्थित थकुजुजुको घर हुँदै टेकुस्थित गम्येमा लगिएको थियो। त्यहाँ थकुजुजु, आयाआजु (कर्माचार्य), भाजु (स्थापित) र गठु (माली) ले करिब डेढ घण्टा पूजापाठ गरी दुईवटा बोकाको बलिसहित होम सम्पन्न गरेका थिए।
प्राध्यापक कमलप्रकाश मल्लका अनुसार राजा गुणकामदेवले कान्तिपुर नगर स्थापना गर्दा दक्षिण क्षेत्रको रक्षकका रूपमा पचली भैरवको स्थापना गरेका थिए। राष्ट्रिय अभिलेखालयमा सुरक्षित ‘उल्लेखत’ ग्रन्थका आधारमा ठकुरी राजा शिवदेवलाई भैरवका रूपमा सिद्ध भएका पूर्वज मानेर ‘भैरव आजु’ का रूपमा पूज्ने परम्परासँग पनि यस जात्राको सम्बन्ध रहेको विश्वास गरिन्छ।
पचली भैरवको देवस्थललाई पञ्चलिङ्गेश्वर पनि भनिन्छ। ऐतिहासिक विवरणअनुसार तत्कालीन राजा शिव सिंहले १६३५ सालतिर तामाको घ्याम्पोमा सुनको जलप लगाएर जात्रा गर्ने चलन सुरु गरेका थिए। त्यसअघि माटोको घ्याम्पो प्रयोग गरिने गरेको बताइन्छ। चिकंमुगलमा माटोको घ्याम्पो फुटेपछि त्यसका टुक्रा भेला पारेर भेलुपात भैरव नामकरण गरी चौथीका दिन पूजा गर्ने परम्परा पनि प्रचलित छ।
राजा वीरेन्द्रले २०४८ सालमा र राजा ज्ञानेन्द्रले २०५८ सालमा नयाँ घ्याम्पो बनाएका थिए। घ्याम्पोमा पचली भैरवको ठस्लो आकृति र माथिल्लो भागमा भैरवकी पत्नी अजिमाको आकृति रहने परम्परा छ। घ्याम्पोमा जाँड, रक्सी, अण्डा, बारा तथा माछालगायतका सामग्री राखिन्छन्।
बागमती नदी किनारमा अवस्थित पचली भैरव क्षेत्रमा आश्विन शुक्ल पञ्चमीका दिन पञ्चनारीमा स्नान गरी दर्शन गर्ने तथा बालबालिकालाई ‘मह जानकेगु’ भोजन गराउने चलनसमेत छ। ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको यस क्षेत्रको उचित प्रचारप्रसार हुन नसकेको स्थानीयवासीको गुनासो छ।
