फर्सेका बाढीपीडितको दसैँ खल्लो, घरबार गुमाएकाले टहरा र आफन्तको आश्रयमा बिताउँदै

राति बाढी आएपछि ज्यान जोगाउन भागेका धेरैले लगाएको कपडा र हातको मोबाइलबाहेक केही निकाल्न भ्याएनन्। अन्नपात, लत्ताकपडा, भाँडाकुँडा, फर्निचर, नगद र महत्त्वपूर्ण कागजात सबै बाढीमा बगे।

म्याग्दी, २९ असोज । दसैँको चहलपहलले बजार रौनकित बने पनि पर्वतको जलजला गाउँपालिका–८ फर्सेका बाढीपीडितका लागि यसपालिको चाडपर्व खुसीको होइन, पीडाको बनेको छ। असोज ८ देखि ११ गतेसम्म परेको लगातार वर्षापछि कालीगण्डकीमा आएको बाढीले घरबास बगाएपछि उनीहरू दसैँ मनाउने मनस्थितिमै छैनन्।

वडाध्यक्ष हरिविकास जिसीका अनुसार बाढीले फर्सेका ७५ घर पूर्ण रूपमा क्षति भएका छन् भने २७ घर जोखिममा छन्। विस्थापित ७५ परिवारमा १२९ महिला, १४४ पुरुष र पाँच वर्षमुनिका ८ बालबालिका छन्। आफन्तकहाँ आश्रय लिन नसक्ने परिवारलाई सुरक्षा निकायको सहयोगमा अस्थायी शिविरमा राखिएको छ।

“पूर्वसूचना र सतर्कताका कारण मानवीय क्षति भएन। तर कालीगण्डकीको बाढीबाट फर्से सबैभन्दा बढी प्रभावित बस्ती बनेको छ,” वडाध्यक्ष जिसीले भने। पीडित मात्र होइन, व्यवस्थापनमा खटिएका जनप्रतिनिधि, कर्मचारी र सुरक्षाकर्मीले समेत दसैँको रमझम गुमाएको उनले बताए।

ज्यान जोगाउन भागे, सबै बगाउँदै गयो बाढी

राति बाढी आएपछि ज्यान जोगाउन भागेका धेरैले लगाएको कपडा र हातको मोबाइलबाहेक केही निकाल्न भ्याएनन्। अन्नपात, लत्ताकपडा, भाँडाकुँडा, फर्निचर, नगद र महत्त्वपूर्ण कागजात सबै बाढीमा बगे।

“राति दुई बजे झरीमा भिज्दै सडकमा निस्कियौँ। ज्यान जोगाउने समय मात्र थियो,” स्थानीय डल्ली दमाईले भनिन्।

बेनी नगरपालिका–१ बेलबोटकी देवी थापाले दुई दशकसम्म फर्सेमा गाईभैँसी पालेर जीवन चलाएकी थिइन्। अहिले माइतीमा आश्रय लिइरहेकी उनले यसपालि जमरा समेत नराखेको बताइन्। “जिन्दगीभरको कमाइ र मेहनतले जोडेको घर बाढीले बगायो। घर गुमेको पीडाले चाडपर्व मनाउने मनस्थिति छैन,” उनले भनिन्।

६६ वर्षीय तीर्थबहादुर केसी छ जनाको परिवारसहित छिमेकीको घरमा डेरा लिएर बसेका छन्। “घरगोठ र सम्पत्ति सबै गुमायौँ। यस्तो अवस्थामा दसैँ मनाउने कुरै भएन,” उनले भने।

बाढीपीडित परिवार दिनको एकपटक बगेको घर रहेको ठाउँमा पुग्छन्, भग्नावशेष नियाल्छन्, पुराना दिन सम्झन्छन् र भारी मन लिएर फर्किन्छन्। डुबानमा परेका घरको हिलो हटाउँदा पुरिएका सामान भेटिएला कि भन्ने आशा उनीहरूमा अझै छ।

सय वर्ष पुरानो झोलुङ्गे पुल पनि बग्यो

बाढीले फर्से र बागलुङको ढोडेनीलाई जोड्ने करिब एक सय वर्ष पुरानो झोलुङ्गे पुल पनि बगाएको छ। नबगेका घरभित्र पनि पानी र हिलो पसेकाले बस्न नसकिने अवस्था छ।

पञ्चायतकालमा फर्से बागलुङ, मुस्ताङ र म्याग्दी आवतजावत गर्ने यात्रुको महत्त्वपूर्ण व्यापारिक केन्द्र थियो। सडक विस्तारपछि त्यो स्वरूप बदलियो र स्थानीय कृषि तथा पशुपालनमा लागे। बेनी, कुश्मा र बागलुङ बजार नजिक भएकाले दूध र तरकारी उत्पादन उनीहरूको मुख्य आम्दानीको स्रोत थियो।

बाढीले गोठ र पशुपालनका संरचना बगाएपछि किसानको जीविकोपार्जन सङ्कटमा परेको छ। सङ्गम दुग्ध उत्पादक तथा कृषि सहकारी संस्थाका सचिव खड्ग केसीले सरकारी निकायको सहयोग पाए पुनः पशुपालन सुरु गर्न सकिने आशा व्यक्त गरे। कृषक रुपा सापकोटाले चिसोबाट पशु जोगाउन गोठमा बिछ्याउने काउम्याट र तत्काल पशुआहारा तथा दानाको व्यवस्था गर्नुपर्ने माग गरिन्।

फर्सेसँगै अन्य बस्ती पनि प्रभावित

मनसुनजन्य विपद्ले फर्सेसँगै वडा नं ७ का ताङवाङ र खानीगाउँ, तथा वडा नं ४ को लामाखेतमा पनि क्षति पुर्‍याएको छ। गाउँपालिका उपाध्यक्ष दीपक आचार्यका अनुसार पहिरोका कारण ताङवाङ र खानीगाउँका ३५ परिवार विस्थापित भएका छन्। “पहिरोले बस्ती घेरिएको छ, पाखो चिराचिरा परेको छ र घरका पर्खाल सुरक्षित छैनन्। त्यसैले बासिन्दा सुरक्षित स्थानमा अस्थायी टहरा बनाएर बसेका छन्,” उनले भने।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्दीप काफ्लेका अनुसार गाउँपालिकाभर बाढीपहिरोबाट १२६ घर पूर्ण र ५० घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। थप ४० घर जोखिममा छन्।

गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले तत्कालका लागि जस्तापाता, भाँडाकुँडा, लत्ताकपडा र खाद्यान्न उपलब्ध गराई अस्थायी टहरामा बसोबास मिलाउने योजना रहेको जानकारी दिए। दीर्घकालीन रूपमा सरकारको नीतिअनुसार निजी आवास तथा क्षतिग्रस्त सडक, खानेपानी, सिँचाइ र विद्यालय भवनको पुनर्निर्माण र जोखिममा रहेका बस्तीको संरक्षण गर्नुपर्ने उनले बताए। आवश्यक स्रोत जुटाउन सङ्घीय र प्रदेश सरकार तथा दातृ निकायसँग समन्वय भइरहेको उनको भनाइ छ।

दसैँमा घर फर्केर परिवारसँग मीठोमसिनो खाने र खुसी साटासाट गर्ने फर्सेबासीको चाहना यस वर्ष बाढीले खोसेको छ। अहिले उनीहरूलाई चाडपर्वको उल्लासभन्दा सुरक्षित बास र गुमेको जीवनयापन फेरि कसरी सुरु होला भन्ने चिन्ताले बढी सताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *