कालीगण्डकीको बाढीले रातो पानीको तातो पानी कुण्ड बगरमा परिणत

काठमाडौँ, असोज ३० । कालीगण्डकी नदीमा आएको बाढी र कटानका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ रातोपानीस्थित प्राकृतिक तातोपानी कुण्ड बगरमा परिणत भएको छ । असोज ८ देखि ११ गतेसम्मको निरन्तर वर्षापछि आएको बाढीले कुण्डका संरचना बगाएसँगै उपचार, स्नान र पर्यटकीय आकर्षणको केन्द्र बनेको उक्त स्थलको अस्तित्व सङ्कटमा परेको हो ।

कुण्डको संरक्षण र पर्यटकीय पूर्वाधार निर्माणमा गाउँपालिकाले विगत नौ वर्षमा गरेको करिब एक करोड रुपैयाँभन्दा बढी लगानी बाढीले नष्ट गरेको वडाध्यक्ष रामबहादुर खड्काले बताउनुभयो ।

“तातोपानीलाई पर्यटकीय स्थलका रूपमा विकास गर्ने उद्देश्यले गाउँपालिकाले विगत नौ वर्षदेखि एक करोड रुपैयाँभन्दा बढी लगानी गरेर तयार पारेका पूर्वाधार ध्वस्त भएका छन्”, उहाँले भन्नुभयो, “कुण्ड रहेको स्थानबाट अहिले कालीगण्डकी नदी बगिरहेको छ भने तातोपानीको मुहानसमेत पुरानो कुण्डबाट करिब ३० मिटर तल सरेको छ ।”

बाढीले नदी कटानबाट कुण्ड जोगाउन निर्माण गरिएको पक्की पर्खाल, तातोपानीमा स्नान गर्न बनाइएको पोखरी, टहरा, विश्रामस्थल र शौचालयलगायत संरचनामा क्षति पुर्‍याएको छ । कुण्ड पुनः सञ्चालन गर्न कठिन हुने गरी भौतिक संरचना बगाएपछि स्थानीयवासी चिन्तित बनेका छन् ।

गाउँपालिकाले पछिल्ला वर्षमा प्राकृतिक तातोपानीको मुहान संरक्षण र व्यवस्थापन गरी आन्तरिक आम्दानीसमेत गर्दै आएको थियो । चालु आर्थिक वर्ष २०८३/८४ मा कुण्ड सञ्चालनका लागि चार लाख पाँच हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । बाढीले कुण्डका संरचना बगाएपछि त्यसबाट प्राप्त हुने आम्दानीसमेत प्रभावित भएको छ ।

स्थानीय दयाराम जिसीका अनुसार गाउँपालिका, प्रदेश सरकार, स्थानीयवासी र दाताको सहयोगमा तातोपानीको मुहान संरक्षण तथा व्यवस्थापन गरिएपछि उक्त स्थल उपचार, स्नान र मनोरञ्जनको गन्तव्यका रूपमा विकास भएको थियो ।

“प्राकृतिक तातोपानी कुण्डमा स्नान गर्न आउने पाहुना र पर्यटकका कारण चलायमान हुन थालेको स्थानीय बजार र होटल व्यवसायमा समेत असर परेको छ”, उहाँले भन्नुभयो, “बाढीले भौतिक संरचना नष्ट गर्नुका साथै रोजगारी र आयआर्जनका अवसर पनि गुमाएको छ ।”

बेनी–जोमसोम सडकको छेउमा रहेको उक्त मुहानबाट प्रतिसेकेन्ड ११ लिटरका दरले ५६ डिग्री सेल्सियस तापक्रमको पानी निस्कने गर्दथ्यो । मुहानबाट निस्कने पानी सङ्कलन गरी १० मिटर लम्बाइ र १० मिटर चौडाइको पोखरी निर्माण गरिएको थियो । उक्त पोखरीमा एकपटकमा ४० देखि ५० जनासम्मले स्नान गर्न सक्ने क्षमता थियो ।

तातोपानी कुण्ड व्यवस्थित भएपछि मुस्ताङ भ्रमण गरेर फर्कने पर्यटकसमेत थकान मेटाउन त्यहाँ स्नान गर्न पुग्ने गरेका थिए । कुण्डमा पर्यटकको आगमन बढेसँगै रातोपानी, पोखरेबगर र ठूलोबगर क्षेत्रका होटल तथा अन्य व्यवसायको प्रवर्द्धनमा टेवा पुगेको थियो ।

विशेषगरी चोटपटक लागेको, शरीर बज्रिएको, ग्यास्ट्रिक तथा चिसोका कारण स्वास्थ्य समस्या भएका व्यक्तिहरू तातोपानीमा स्नान गर्न आउने गरेका थिए । यसका कारण कुण्ड प्राकृतिक उपचार र स्वास्थ्य पर्यटनका लागि परिचित बनेको थियो ।

बाढीले पुरानो स्थानमा कुण्ड पुनर्निर्माण गर्न कठिन हुने गरी क्षति पुर्‍याएपछि प्राकृतिक तातोपानीको मुहानबाट पानी ल्याएर अन्यत्र स्नानस्थल निर्माण गर्ने विकल्पबारे छलफल सुरु गरिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।

कुण्डको भौतिक संरचना पुनर्निर्माण गर्न सम्भव हुने वा नहुने विषयमा अध्ययन गर्दै वैकल्पिक स्थानमा स्नानस्थल निर्माण गर्ने सम्भावनाबारे गाउँपालिकाले छलफल अघि बढाएको उहाँले जानकारी दिनुभयो । प्राकृतिक सम्पदाको संरक्षणसँगै पर्यटन र स्थानीयवासीको आयआर्जनलाई पुनः चलायमान बनाउने चुनौती गाउँपालिकासामु देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *