विधिपूर्वक सम्पन्न भयो ऐतिहासिक पचली भैरव जात्रा

असोज शुक्ल पञ्चमीका दिन जीवितदेवी कुमारीलाई दर्शन गराएसँगै सांस्कृतिक उत्सव सम्पन्न

काठमाडौँ — कला र संस्कृतिका धनी नेवार समुदायको ऐतिहासिक तथा सांस्कृतिक पर्व पचली भैरव जात्रा यो वर्ष विधिपूर्वक सम्पन्न भएको छ। असोज शुक्ल पञ्चमीको राति जीवितदेवी श्री कुमारीलाई भैरवको दर्शन गराएसँगै जात्राको समापन गरिएको हो।

नेपाल भाषामा ‘पचिमह्रः’ (पञ्चमीका दिन गरिने जात्रा) भनिने यो जात्रा आइतबारदेखि सुरु भएको थियो। कुमारीलाई भैरवको दर्शन गराउँदा दिव्य शक्ति प्राप्त हुने जनविश्वास रहिआएको छ। सोही परम्पराअनुसार काठमाडौँ महानगरपालिका–१२ स्थित पचली पीठबाट विशेष बाजागाजासहित पचली भैरवको खट हनुमानढोका पुर्‍याइएको थियो।

जात्राको क्रममा चित्रकारले घ्याम्पोमा (त्यप) भैरवको विम्ब बनाई पचली पीठबाट खटलाई नगर परिक्रमा गराएका थिए। त्यसक्रममा स्थानीय टोलहरूमा सर्वसाधारणको घुइँचो लागेको थियो भने जात्रालाई भव्य स्वागत गरिएको थियो। भैरवको खटलाई टेकु, लगन, ज्याबहाल, मरु, हनुमानढोका, दलाछी, श्वेतभैरव र जैशिदेगललगायत भित्री सहरका विभिन्न भागमा परिक्रमा गराइएको थियो। जात्रा हनुमानढोका पुर्‍याएपछि पुनः पचली भैरवलाई पालाको घरमा ल्याएर भित्र्याइएको थियो।

काठमाडौँको नेवार समुदायभित्र विशेष गरी ज्यापु तथा मल्ल जातिले पुर्खादेखि नै यो जात्रा सञ्चालन गर्दै आएका छन्। किम्बदन्तीअनुसार फर्पिङका राजा (द्यः जुजु) काठमाडौँकी नैमय्जु (नैनी) सँग रसबस गर्न आउने गर्दथे। एक दिन नैनीले आफ्नो प्रेमीको वास्तविक परिचय थाहा पाउन घरको ढोकामा साडी सुकाएर राखिदिइन्। रसबसपछि फर्कने क्रममा साडीमुनिबाट जान नमिल्ने भएपछि भैरवले आफ्नो वास्तविक रूप प्रकट गर्नुपरेको मान्यता छ।

त्यसपछि भाले बास्ने समय भएकाले भैरवले आफ्नो टाउको ‘कन्हाय्स्वाँ’ नामक फूलको झुप्पाभित्र लुकाएका थिए। पुलुले छोपेर बसेका तिनै देवतालाई ज्यापुहरूले जात्रा गर्ने परम्परा सुरु भएको मानिन्छ। जात्रा पाचामा पुगेपछि ‘जुजु पचली’ बाजा नबजाई जात्रा गर्ने नियम छ भने फर्पिङमा ‘जुजु’ जात्रा गर्दा बेजातीय युवतीसँग रसबस गरिएकाले ख्वाःपाः (मुखौटा) विहीन त्यप (घ्याम्पो) को जात्रा गर्ने परम्परा छ।

यसअघि चौथीका दिन कोहिति जुजु भैरवलाई राम्रो वस्त्र पहिराई रक्सी, जाँड तथा समय्बजी समावेश गरी पञ्चमकार पूजा गरिएको थियो।

नेपालको आदिवासी नेवार समुदायको मौलिक पहिचान, हर्ष र उल्लासको प्रतीक मानिने यो जात्राले काठमाडौँको प्राचीन अमूर्त सांस्कृतिक सम्पदालाई जीवन्त राख्न महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *