चितवन राष्ट्रिय निकुञ्जमा इ-टिकटिङ सुरु : घरबाटै प्रवेश टिकट काट्न सकिने

काठमाडौँ, असोज ३० । चितवन राष्ट्रिय निकुञ्ज घुम्न जाने पर्यटकले अब घरबाटै अनलाइनमार्फत प्रवेश टिकट काट्न सक्ने भएका छन् । निकुञ्जले पर्यटकको सहजताका लागि विद्युतीय टिकट (इ-टिकटिङ) प्रणाली सुरु गरेको हो ।

पहिलो चरणमा सौराहा क्षेत्रबाट अनलाइन टिकट काट्न सकिने व्यवस्था मिलाइएको छ । यसको परीक्षणबाट प्राप्त नतिजाका आधारमा निकुञ्ज प्रवेशका अन्य नाकामा समेत सेवा विस्तार गरिने निकुञ्ज कार्यालयले जनाएको छ । यसअघि प्रवेश टिकट लिन पर्यटक तथा पर्यटन व्यवसायी भौतिक रूपमा उपस्थित भएर नगद बुझाउनुपर्ने व्यवस्था थियो । नयाँ प्रणालीले टिकट काट्न लाग्ने समय र झन्झट कम गर्नुका साथै प्रवेश प्रक्रियालाई सहज बनाउने अपेक्षा गरिएको छ ।

बिहीबार चितवन क्षेत्र नं १ का सांसद तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकाल र निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले इ-टिकटिङ प्रणालीको उद्घाटन गर्नुभयो ।

वरिष्ठ संरक्षण अधिकृत पुनले इ-टिकटिङ सुरु गर्न निकुञ्ज प्रशासनले लामो समयदेखि प्रयास गर्दै आएको बताउनुभयो । शिवपुरी राष्ट्रिय निकुञ्जमा इ-टिकटिङ सुरु भएपछि चितवनमा पनि यसको आवश्यकता थप महसुस गरिएको उहाँको भनाइ छ ।

“चितवन राष्ट्रिय निकुञ्जको ७० देखि ७५ प्रतिशत राजस्व सौराहा क्षेत्रबाट सङ्कलन हुने र त्यही अनुपातमा पर्यटक पनि यस क्षेत्रबाट निकुञ्जभित्र प्रवेश गर्ने भएकाले यहाँ इ-टिकटिङ अति आवश्यक देखिएको हो”, उहाँले भन्नुभयो ।

उहाँका अनुसार नयाँ प्रणालीबाट पर्यटकले घरबाटै टिकट काटेर प्रवेश प्रक्रिया पूरा गर्न सक्नेछन् । प्रणाली प्रयोग गर्ने तरिकाबारे जानकारी दिन निकुञ्जको फेसबुक पेज र वेबसाइटमा ट्युटोरियलसमेत राखिनेछ ।

सांसद ढकालले पर्यटन व्यवसायी र आफ्नो निरन्तरको पहलपछि सौराहामा इ–टिकटिङ प्रणाली सञ्चालनमा ल्याउन सम्भव भएको बताउनुभयो । दोस्रो कार्यकालको पदभार सम्हालेपछि पछिल्लो छ महिनादेखि यस विषयमा नियमित पहल गर्दै आएको उहाँले उल्लेख गर्नुभयो ।

उहाँले नयाँ प्रविधि प्रयोग गर्दा सुरुमा केही अन्योल देखिन सक्ने भए पनि प्राविधिक समस्या समाधान गर्दै प्रणालीलाई थप व्यवस्थित र व्यावहारिक बनाउनुपर्नेमा जोड दिनुभयो । पर्यटक तथा पर्यटन व्यवसायीका सुझाव समेटेर प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने उहाँको भनाइ थियो ।

ढकालले टिकटिङ प्रणालीमा पर्यटन व्यवसायीको संरक्षणप्रतिको योगदान र प्रतिबद्धता झल्किने विवरणसमेत समावेश गर्न सके स्वस्थ प्रतिस्पर्धा प्रवर्द्धनमा सहयोग पुग्ने बताउनुभयो । निकुञ्ज प्रवेशका लागि काटिएको टिकट एक दिन मात्रै मान्य हुने व्यवस्थालाई परिवर्तन गरी तीन दिनसम्म प्रयोग गर्न मिल्ने बनाउन पहल भइरहेको जानकारीसमेत उहाँले दिनुभयो ।

चितवन राष्ट्रिय निकुञ्जमा सौराहा, कसरा, घटगाई, मेघौली, बनकट्टा, माडी, कुजौली, नवलपरासी र अमलटारीलगायत नाकाबाट पर्यटक प्रवेश गर्ने गरेका छन् । निकुञ्जभित्र सौराहाबाट ३२, कसराबाट २२, मेघौलीबाट ११, अमलटारीबाट आठ र माडीबाट एउटा जिप सञ्चालनमा छन् । पर्यटक यहाँ एकसिङ्गे गैँडा, पाटेबाघ, भालु, हात्तीलगायत वन्यजन्तु तथा विभिन्न प्रजातिका चराचुरुङ्गी अवलोकन गर्न आउने गर्छन् ।

निकुञ्ज कार्यालयका अनुसार प्रवेशका लागि नेपाली पर्यटकले प्रतिव्यक्ति प्रतिदिन १५० रुपियाँ, सार्क मुलुकका पर्यटकले एक हजार रुपियाँ र अन्य विदेशी पर्यटकले दुई हजार रुपियाँ शुल्क बुझाउनुपर्छ । पर्यटक बोक्ने जिपले निकुञ्जमा एकपटक प्रवेश गर्दा पाँच हजार रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था छ । अनलाइनमार्फत आवश्यक विवरण भरी प्रक्रिया पूरा गरेपछि क्यूआर कोड प्राप्त हुने र सोही कोड देखाएर निकुञ्ज प्रवेश गर्न सकिने कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती सामुदायिक वनमा दुई लाख ७२ हजार ९२३ पर्यटकले भ्रमण गरेका थिए । अघिल्लो आर्थिक वर्षमा उक्त सङ्ख्या दुई लाख ३१ हजार ३२९ थियो । निकुञ्जले गत आर्थिक वर्षमा पर्यापर्यटनबाट २७ करोड ६३ लाख ३९ हजार ९५० रुपियाँ राजस्व सङ्कलन गरेको जनाएको छ ।

इ-टिकटिङ प्रणालीको सुरुआतसँगै पर्यटकको प्रवेश प्रक्रिया सहज हुने, टिकट व्यवस्थापनमा लाग्ने समय घट्ने र निकुञ्जको पर्यापर्यटन प्रवर्द्धनमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *