नवरात्रको सातौँ दिन आज कालरात्रि देवीको पूजा, फूलपाती भित्र्याइँदै

काठमाडौँ, ३१ असोज । बडादसैँअन्तर्गत नवरात्रको सातौँ दिन आज दसैँघर तथा पूजा कोठामा नवदुर्गामध्येकी सातौँ देवी कालरात्रिको विधिपूर्वक पूजा आराधना गरिँदै छ । आजै वैदिक विधिअनुसार फूलपाती पनि भित्र्याइँदै छ ।

वैदिक सनातन परम्पराअनुसार प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमीका दिन कालरात्रि देवीको पूजा आराधना गरिन्छ । धार्मिक मान्यताअनुसार काललाई समेत नष्ट गर्न सक्ने भगवतीको स्वरूपलाई कालरात्रि भनिन्छ । कृष्ण वर्ण र भयङ्कर आकृति भएकी देवीका रूपमा कालरात्रिको वर्णन विभिन्न पुराणमा गरिएको छ ।

नवरात्रको पहिलो दिन असोज १५ गते आइतबार दसैँघर तथा पूजा कोठामा वैदिक विधिअनुसार घटस्थापना गरी जौँको जमरा राखिएको थियो । त्यस दिन नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी पूजा आराधना गरिएको थियो ।

नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता र छैटौँ दिन कात्यायनी देवीको पूजा आराधना गरिएको थियो । आज सातौँ दिन कालरात्रिको पूजा गरिँदै छ । आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा गर्ने परम्परा छ । यी नौ स्वरूपलाई नवदुर्गा भनिन्छ ।

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत तथा देवी स्तोत्र पाठ गर्ने चलन छ । देवीको आराधना र पूजाबाट शक्ति, ऐश्वर्य तथा विद्या प्राप्त हुने धार्मिक विश्वासका आधारमा वैदिक सनातन धर्मावलम्बीले आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष पूजा आराधना गर्छन् ।

नवरात्रको सातौँ दिन फूलपाती भित्र्याउने परम्परा पनि छ । वैदिक विधिअनुसार फूलपाती अपराह्नकालमा दसैँघर वा पूजा कोठामा भित्र्याइन्छ ।

नौ दिनसम्म देवीको पूजा आराधना गरेपछि विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म प्रसादस्वरूप टीका र जमरा लगाउने गरिन्छ । यसरी नेपालीले १५ दिनसम्म बडादसैँ पर्व मनाउने परम्परा छ ।

नवरात्रका अवसरमा देशभरका शक्तिपीठमा पूजा आराधना तथा दर्शन गर्न भक्तजनको भीड लाग्ने गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *