देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो, यातायात व्यवस्थापन नभएको गुनासो
काठमाडौँ । दुर्गापक्षको सातौँ दिन अर्थात् नवरात्र तथा फूलपातीका अवसरमा आज देशभरका शक्तिपीठ एवं देवी मन्दिरहरूमा बिहानैदेखि भक्तजनको लामो लाम लागेको छ। सामान्यतया शनिबारका दिनसमेत देवी मन्दिरमा भीड लाग्ने गरेकामा आज फूलपाती परेका कारण राजधानीसहित देशभरका मन्दिरहरूमा दर्शनार्थीहरूको अत्यधिक उपस्थिति रहेको छ।
राजधानीका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, श्वेतकाली, दक्षिणकाली, चामुण्डामाई, सुन्दरीमाई, बज्रयोगिनी, बङ्गलामुखी, टोखा चण्डेश्वरीलगायतका शक्तिपीठहरूमा भक्तजनको घुइँचो लागेको छ। त्यस्तै, उपत्यका बाहिरका पाथीभरा, छिन्नमस्ता, गहवामाई, पलाञ्चोक भगवती, मनकामना, विन्ध्यवासिनी, बागलुङ कालिका, शैलेश्वरी, उग्रतारा, बडिमालिकालगायतका प्रख्यात मन्दिरहरूमा पनि दर्शनार्थीहरूको भर्इलाबैरी नै देखिएको छ।


सांस्कृतिक उल्लास र धार्मिक विश्वास
देशभरका मुख्य शक्तिपीठ तथा देवी मन्दिरहरूलाई ध्वजापताकाले भव्य रूपमा सिँगारिएको छ। मन्दिर परिसरमा गुञ्जिएका देवीका भजन, मङ्गल, मालश्री धुन तथा स्तोत्र वाचनले वातावरणलाई पूर्ण रूपमा भक्तिमय बनाएको छ। मैतीदेवी र नक्साल भगवती मन्दिर क्षेत्रमा आकर्षक स्वागतद्वारसमेत निर्माण गरिएका छन्।
शारदीय नवरात्रका अवसरमा कम्तीमा नौ वटा देवी मन्दिरको दर्शन गर्नुपर्ने मान्यता अनुसार धेरै श्रद्धालुले प्रत्येक दिन फरक-फरक शक्तिपीठमा पुग्ने योजना बनाएका छन्। यस अवसरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआराधना गर्दै नौ दिनसम्म विधिपूर्वक साधना गरेमा मनोकामना पूरा हुने र शक्ति प्राप्त हुने धार्मिक विश्वास रही आएको छ।
बजारमा चहलपहल र यातायातको सास्ती
चाडपर्व नजिकिँदै जाँदा काठमाडौँ उपत्यकालगायत देशका मुख्य बजारहरूमा सामान किनमेल गर्नेहरूको भिडभाड बढेको छ। धेरै नागरिकहरू दसैँ मनाउन आआफ्नो गाउँठाउँ फर्किसकेका छन् भने केही जाने तयारीमा छन्।
यसैबीच, उपत्यका बाहिरिने यात्रुहरूले सार्वजनिक यातायातको सास्ती र सहजता नभएको गुनासो गरेका छन्। बसहरूमा क्षमताभन्दा बढी (गुन्द्रुक कोचेझैँ) यात्रु कोच्ने प्रवृत्तिले घर फर्कनेहरूले ठूलो दुःख पाएका छन्। तीन तहका सरकारको संरचना भए पनि चाडपर्वका बेला सार्वजनिक यातायातको प्रभावकारी व्यवस्थापन हुन नसकेको आम नागरिकको गुनासो छ। यस वर्ष विभिन्न जिल्लामा बाढीपहिरोले सडक र पुल संरचनामा पुर्याएको क्षतिका कारण यातायात सञ्चालनमा समेत केही कठिनाइ उत्पन्न भएको छ, यद्यपि धेरै स्थानमा वैकल्पिक व्यवस्था गरिएको जनाइएको छ।

दसैँ मनाउन जानेहरुका लागि तयारी अवस्थामा राखिएको माइक्रोबस
फूलपातीको दिन आज काठमाडौँको गोँगबु नयाँ बसपार्कमा विभिन्न गन्तव्य स्थानमा जानको लागि तयारी अवस्थामा राखिएका माइक्रोस बस । तस्बिरः हरिराम भेटुवाल/रासस
