खानेपानीको मुहान जोगाउन शंखरापुरका वडा अध्यक्ष श्रेष्ठले दिए एक रोपनी जग्गा
काठमाडौँ, २९ कात्तिक । शंखरापुर नगरपालिका–६ का वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता राधाकृष्ण श्रेष्ठले खानेपानीको मुहान संरक्षण र आयोजना सञ्चालनका लागि आफ्नो नाममा रहेको एक रोपनी जग्गा दान गर्ने भएका छन्। उनले डाँडाथोक खानेपानी उपभोक्ता समितिलाई जग्गा उपलब्ध गराउनेसम्बन्धी करार गरेका हुन्।
श्रेष्ठ र उपभोक्ता समितिका तर्फबाट अख्तियारप्राप्त समरबहादुर तामाङबीच जग्गादानसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो। मुलुकी देवानी संहिता, २०७४ अनुसार गरिएको उक्त सम्झौतामा श्रेष्ठले दान गर्ने जग्गा साविक नालेभारे वडा नं. ६/ख, हाल शंखरापुर नगरपालिका–१ मा पर्ने कित्ता नम्बर ३५६ को एक रोपनी क्षेत्रफलको जग्गा हो। उक्त जग्गा पोखरी खोला खानेपानीको मुहानसँग सम्बन्धित छ।
खानेपानीको स्रोत तथा मुहान संरक्षण गर्दै आयोजनालाई दीर्घकालीन रूपमा व्यवस्थित र सञ्चालन गर्न सहज बनाउने उद्देश्यले जग्गा सामुदायिक प्रयोजनका लागि उपलब्ध गराउने निर्णय गरिएको श्रेष्ठले बताउनुभएको छ।

सम्झौताअनुसार खानेपानी उपभोक्ता समिति विधिवत् दर्ता भएपछि प्रचलित कानुनअनुसार लाग्ने राजस्व तथा दस्तुर जग्गादाता आफैले बुझाएर जग्गा समितिको नाममा हस्तान्तरण गरिनेछ। त्यसका लागि आवश्यक मञ्जुरी, कागजात र कानुनी प्रक्रिया दुवै पक्षले पूरा गर्नुपर्ने जनाइएकाे छ।
सम्झौतामा खानेपानीको गुणस्तर कायम राख्ने, मुहान संरक्षण गर्ने र स्थानीय समुदायलाई स्वच्छ तथा सुरक्षित खानेपानी उपलब्ध गराउने जिम्मेवारी उपभोक्ता समितिको हुने उल्लेख छ। समुदायको हितविपरीत खानेपानीको दुरुपयोग हुन नदिन आवश्यक नियन्त्रण तथा व्यवस्थापन गर्ने अधिकार पनि समितिलाई दिइएको छ।
सामाजिक सेवा र सामुदायिक विकासमा सक्रिय श्रेष्ठले जनप्रतिनिधि बन्नुअघि स्थानीय टोल सुधार समितिको अध्यक्षका रूपमा काम गर्नुभएको थियो। उहाँले शंखरापुर नगरपालिका–६ को वडाध्यक्षका रूपमा दुई कार्यकाल जिम्मेवारी सम्हालिसक्नुभएको छ। भाषा, संस्कृति, सम्पदा संरक्षण तथा स्थानीय विकास निर्माणका क्षेत्रमा पनि उहाँ सक्रिय रहँदै आउनुभएको छ।
