काठमाडौँको दशैँ घरमा भित्र्याइयो फूलपाती, कार्यवाहक प्रमुख सुनिता डङ्गोलको विशेष उपस्थिति
काठमाडौँ । बडादशैँको सातौँ दिन आज (फूलपातीका अवसरमा) वसन्तपुरस्थित हनुमानढोकाको दशैँ घरमा धार्मिक विधिपूर्वक फूलपाती भित्र्याइएको छ। गोर्खा दरबारबाट धादिङको छत्रेदेउराली हुँदै जमल ल्याइएको डोलीलाई विशेष लावालस्कर र बाजागाजासहित हनुमानढोका परिसर पुर्याइएको थियो।
फूलपाती स्वागत तथा भित्र्याउने सो ऐतिहासिक यात्रामा काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलको विशेष उपस्थिति रहेको थियो। उहाँसँगै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, पञ्चैबाजा, सांस्कृतिक नाचगान टोली र निजामती कर्मचारीहरूसहितको लावालस्कर जमलबाट हनुमानढोकासम्म पुगेको थियो।
दशैँ घरमा केराको बोट, बेलपत्र, दारिम, जयन्ती, धानको बोट, हलेदो, माने, कचुर र अशोकका नयाँ पालुवा (नवपत्रिका) लाई दुर्गा भवानीको प्रतिमा राखिएको स्थलमा पूजाआजा गरी विधिपूर्वक स्थापना गरिएको छ।

