खाना स्वाद मात्र होइन, नेपाली संस्कृति र पहिचान पनि हो : वरिष्ठ सेफ केसी

काठमाडौँ, ३ कात्तिक । नेपाली खाना जिब्रोको स्वाद र पेट भर्ने माध्यम मात्र नभई देशको संस्कृति, परम्परा, आतिथ्यता र पहिचानसँग जोडिएको विषय हो। त्यसैले परम्परागत तथा रैथाने खानाको संरक्षण गर्दै स्वादसँगै स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्ने वरिष्ठ सेफ गोविन्दनरसिंह केसी बताउनुहुन्छ।

पछिल्लो समय स्वादिष्ट परिकारप्रतिको आकर्षण बढ्दै जाँदा नेपाली परम्परागत तथा रैथाने खानाको प्रचलन घट्दै गएको पाका पुस्ताको बुझाइ छ। तर नेपाली खानाका परिकार तत्कालीन समय, मौसम र मानिसको शारीरिक आवश्यकतासँग जोडिएर विकास भएको केसीको भनाइ छ।

नेपाली संस्कारमा मासु, सेलरोटी, खिर, क्वाँटी, तरुल र घ्युचाकुजस्ता परिकारको विशेष महत्त्व छ। विभिन्न चाडपर्व तथा उत्सवमा निश्चित परिकार खाने परम्परा केवल सांस्कृतिक अभ्यास मात्र नभई मौसम र स्वास्थ्यसँग पनि सम्बन्धित हुन सक्ने उहाँ बताउनुहुन्छ।

नेपालको प्रमुख पर्व दसैँमा मासुका परिकारको विशेष महत्त्व छ। लामो समयसम्म भेटघाट हुन नपाएका आफन्तसँग भेला भएर मिठोमसिनो खाने अवसरका रूपमा पनि दसैँलाई लिइन्छ। नेपाली चाडपर्वमा खानपानले विशेष स्थान पाउने भएकाले दसैँ र मासुको सम्बन्ध लामो समयदेखि कायम रहेको छ।

“नेपाली खानाले नेपालको संस्कृति, आतिथ्यता र जीवनशैलीलाई उजागर गर्छ। नेपाली खानाका विशेषता, महत्त्व, स्वाद र मसलासँग विविध पक्ष जोडिएका छन्,” केसी भन्नुहुन्छ, “भोजन शरीरलाई शक्ति दिनका लागि हो, अजीर्ण हुने गरी खानका लागि होइन। खानाले तत्काल सन्तुष्टि दिए पनि त्यसले स्वास्थ्यमा पार्ने असरबारे सोच्न सक्नुपर्छ।”

स्वादसँगै पाककलाको पनि उत्तिकै महत्त्व

दसैँमा मासुका विभिन्न परिकार बनाउने चलन भए पनि तिनलाई स्वादिष्ट र स्वस्थ बनाउन पाककलामा ध्यान दिनुपर्ने केसीको सुझाव छ। नेपाली मासुका परिकारमा प्रयोग हुने मसला, पकाउने शैली र स्वादले मौलिकता झल्काउने उहाँ बताउनुहुन्छ।

नेपाली खानामा मरमसाला, चिल्लो र पिरोको प्रयोग धेरै हुने गरेको छ। पछिल्लो समय स्वास्थ्यप्रतिको चेतनाले यस्ता सामग्रीको प्रयोगमा केही कमी आए पनि रैथाने परिकारलाई मौलिक स्वाद दिन मसलाको उचित प्रयोग आवश्यक हुने उहाँको भनाइ छ। तर स्वाद बढाउने नाममा स्वास्थ्यलाई बेवास्ता गर्न नहुनेमा उहाँ जोड दिनुहुन्छ।

नेपाली खानामा प्रयोग हुने काँचो तोरीको तेल, सिलौटामा पिसेको लसुन र अदुवा, जिरा–धनियाँ, शुद्ध घिउ तथा पकाउने भाँडा र दाउराको प्रयोगले परिकारलाई विशिष्ट स्वाद दिने केसी बताउनुहुन्छ।

करिब २५ वर्ष होटल सोल्टीमा काम गर्नुभएका र चार दशकभन्दा लामो समयदेखि नेपाली तथा विदेशी परिकारको पाककलामा सक्रिय केसी नेपाली परम्परागत र रैथाने खानाको स्वाद र विशेषता विश्वका अन्य खानासँग तुलना गर्न सकिने बताउनुहुन्छ।

युवा पुस्ताले नेपालीपन झल्काउने मौलिक मसला र स्वादलाई निरन्तरता दिनुपर्ने उहाँको सुझाव छ। जिब्रोलाई मिठो लाग्ने परिकारको खोजी मात्रै नगरी खानाको मौलिकता, पोषण र स्वास्थ्यमा पर्ने प्रभावबारे पनि सचेत हुनुपर्ने उहाँ बताउनुहुन्छ।

दसैँमा मासु खाँदा स्वास्थ्यमा ध्यान दिन सुझाव

सेफ केसीका अनुसार दसैँमा एकैपटक धेरै मासु पकाएर लामो समयसम्म राखी खानेभन्दा आवश्यकताअनुसार तयार पारेर खानु राम्रो हुन्छ। पहिले मौसम चिसो हुने र अहिलेको तुलनामा प्रदूषण कम हुने अवस्थाका कारण मासु भुटेर राख्ने र पछि खाने चलन रहेको उहाँको अनुभव छ। तर अहिले खाद्य स्वच्छता र सुरक्षित भण्डारणमा विशेष ध्यान दिनुपर्ने उहाँ बताउनुहुन्छ।

मासु खाँदा अजीर्ण हुने गरी खान नहुने र त्यससँगै सागसब्जी, हरिया तरकारी तथा सलादको पर्याप्त प्रयोग गर्नुपर्ने उहाँको सुझाव छ। मासुका परिकारसँग दहीको प्रयोग उपयुक्त हुने उहाँ बताउनुहुन्छ।

दसैँको खानपानमा तारेका परिकारभन्दा स्वस्थ, स्वच्छ र राम्रोसँग पाकेका परिकार रोज्न, सागसब्जी तथा फलफूल पनि खान र एकैपटक धेरै भोजन नगर्न उहाँले सुझाव दिनुभएको छ। खानपानसँगै नियमित हिँडडुल र शारीरिक व्यायाममा ध्यान दिन सके चाडपर्वको आनन्द लिँदै स्वास्थ्यसमेत जोगाउन सकिने उहाँको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *