भक्तपुरमा खम्ये जात्रा, आधा घण्टामै ब्रह्मायणी पुग्यो
भक्तपुर, ३ कात्तिक। भक्तपुरको प्रसिद्ध खम्ये जात्रा यस वर्ष चाँडै सम्पन्न भएको छ। दिउँसो साढे ३ बजे नवदुर्गा द्योछेंबाट दौडाइएको खम्ये अपराह्न ४ बज्नुअघि नै ब्रह्मायणी पीठ पुगेको थियो।
दसैँको मुख्य आकर्षणमध्ये एक मानिने खम्ये जात्रा महानवमीको साँझ भक्तपुरमा सम्पन्न भएको हो। महिषासुरको प्रतीक मानिने ठूलो राँगोलाई विशेष तान्त्रिक विधिअनुसार पूजाआजा गरी नवदुर्गा द्योछेंबाट ब्रह्मायणी पीठसम्म दौडाएर यो जात्रा मनाइन्छ।
नवदुर्गा देवता घरमा पालेर राखिएको खम्येलाई धार्मिक विधिअनुसार पूजा गरी दौडाइने परम्परा छ। ब्रह्मायणी पीठ पुर्याइएपछि सोही रात नवदुर्गालाई बलि चढाउने धार्मिक परम्परा रहेको छ।
अष्टमीको रातलाई कालरात्रि भनिन्छ। यस रात गरिने कालरात्रि पूजा विशेष महत्त्वको हुने जानकारहरू बताउँछन्। परम्पराअनुसार सोही रात ३२ गुणले युक्त निक्खर कालो राँगो अर्थात् खम्येको बलि दिइन्छ।
तलेजु भवानीको धार्मिक परम्परासँग सम्बन्धित खम्ये जात्राले भक्तपुरको मौलिक संस्कृति, धार्मिक आस्था र ऐतिहासिक परम्परालाई जीवन्त राख्दै आएको छ। महानवमी तथा विजयादशमीका अवसरमा मनाइने यस जात्रामा स्थानीयवासी र श्रद्धालुको उल्लेख्य सहभागिता रहने गर्छ।
खम्ये दौडाइने मार्गको दुवैतर्फ जात्रा अवलोकन गर्न हजारौँ मानिसको भीड लागेको थियो। खम्ये जात्रा सम्पन्न भएसँगै भक्तपुरमा दसैँसँग सम्बन्धित महत्त्वपूर्ण सांस्कृतिक गतिविधिमध्ये एक पूरा भएको छ। जात्राको भोलिपल्ट विजयादशमीका दिन ब्रह्मायणी क्षेत्रमा दिनभर ठूलो मेला लाग्ने परम्परा छ।
भक्तपुरका परम्परागत जात्रा तथा पर्वले स्थानीय सांस्कृतिक पहिचान जोगाउनुका साथै पुस्तान्तरण गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन्। खम्ये जात्रा पनि धार्मिक विश्वास, परम्परागत विधि र सामुदायिक सहभागिताको विशिष्ट उदाहरणका रूपमा रहँदै आएको छ।
तस्बिर- कृष्ण किसी, भक्तपुर
