रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणका लागि सुरक्षित
तटीय क्षेत्रबाहेकको जनजीवन सामान्य
काठमाडौँ, कार्तिक ३ । भदौमा भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले क्षति पुर्याएका सडकको मर्मत सम्भार भएसँगै रसुवा र नुवाकोटका नदी तटीय क्षेत्रबाहेक अन्य स्थानको जनजीवन सामान्य बन्दै गएको छ । सडक यातायात सञ्चालनमा आएसँगै दुवै जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रमा भ्रमण गर्न सकिने सम्बन्धित निकायले जनाएका छन् ।
रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङका अनुसार बाढीबाट प्रभावित नदी तटीय क्षेत्रबाहेक अन्य स्थानको जनजीवन सामान्यतर्फ फर्किएको छ । त्रिशूलीदेखि वेत्रावतीसम्म सडक यातायात सञ्चालनमा आइसकेको र विभिन्न शाखा सडकसमेत मर्मत तथा निर्माण गरिएको उहाँले जानकारी दिनुभयो ।
यसैबीच, होटल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घ नुवाकोट र होटल तथा पर्यटन व्यवसायी सङ्घ रसुवाले नदी तटीय क्षेत्रबाहेक अन्य स्थान सुरक्षित र सहज रहेकाले पर्यटकलाई निर्धक्क भ्रमण गर्न आग्रह गरेका छन् । दुवै सङ्घले पर्यटकलाई यसअघिकै अवस्थामा आवश्यक सेवा तथा सुविधा उपलब्ध गराउन आफूहरू तयार रहेको जनाएका छन् ।
नागरिक समाजका अध्यक्ष तामाङले आन्तरिक तथा बाह्य पर्यटकलाई स्वागत गर्न रसुवावासी तयार रहेको बताउँदै यात्रा गर्दा अनावश्यक डर र द्विविधा नराख्न अनुरोध गर्नुभयो ।
होटल तथा पर्यटन व्यवसायी सङ्घ रसुवाका अध्यक्ष विशाल घलेले जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलसम्म पुग्ने सडकमार्ग सुरक्षित रहेकाले पर्यटकलाई भ्रमणमा सहभागी हुन आग्रह गर्नुभयो ।
होटल व्यवसायी महासङ्घ नेपालका वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेतीले पनि पर्यटकीय गतिविधि, व्यावसायिक काम वा व्यक्तिगत प्रयोजनका लागि रसुवा र नुवाकोट जान चाहनेलाई अनावश्यक त्रास नराख्न आग्रह गर्नुभएको छ ।
रसुवाका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेका अनुसार बाढीपछि धादिङको गल्छी हुँदै देवीघाट–ढुङ्गे–त्रिशूली–वेत्रावती सडक पूर्ण रूपमा सञ्चालनमा आइसकेको छ । स्याफ्रुबेँसीमा फड्के पुल निर्माण गरिएको र बेलिब्रिज जडान गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।
सडक यातायात पुनः सञ्चालनमा आएको, होटल व्यवसायसमेत चलायमान हुन थालेको र जिल्लाको शान्तिसुरक्षाको अवस्था मजबुत रहेकाले यात्रा गर्न असहज नहुने प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो । यद्यपि, बाढीबाट प्रभावित नदी तटीय क्षेत्रको अवस्था भने फरक रहेकाले भ्रमणमा जानेले सम्बन्धित निकायको सूचना र सुरक्षा निर्देशन पालना गर्नुपर्ने देखिन्छ ।
