ब्रह्मायणी जात्रामा बिहानैदेखि दर्शनार्थीको भीड
त्रिपुरा सुन्दरी प्रकट हुने जनविश्वास
काठमाडौँ, कार्तिक ४ । विजयादशमीका अवसरमा भक्तपुरस्थित ब्रह्मायणी मन्दिरमा लाग्ने परम्परागत ब्रह्मायणी जात्रामा मध्यरातिदेखि नै दर्शनार्थीको भीड लागेको छ । नवदुर्गाको शक्तिपीठका रूपमा मानिने ब्रह्मायणी मन्दिरमा त्रिपुरा सुन्दरी प्रकट हुने जनविश्वासका साथ प्रत्येक वर्ष विजयादशमीका दिन भव्य मेला लाग्ने गर्दछ ।
जात्राका अवसरमा भक्तपुरवासी धिमेबाजा बजाउँदै मध्यरातिदेखि नै ब्रह्मायणी मन्दिर पुग्ने गरेका छन् । व्रत बसेका भक्तजन घरदेखि मन्दिरसम्म घस्रिँदै, पल्टिँदै तथा शरीरमा पाँच, सात र १८ वटा दियो बालेर यात्रा पूरा गरी पूजा गर्ने गर्दछन् । यसरी शरीरमा बत्ती बाल्ने र शरीर नाप्दै मन्दिर पुग्ने परम्पराले मनोकाङ्क्षा पूरा हुनुका साथै धार्मिक पुण्य प्राप्त हुने जनविश्वास छ ।
नेवार समुदायमा विजयादशमीका दिन मोहिनी नखः मनाउँदै घरघरमा कालो टीका लगाएपछि प्रत्येक घरबाट पूजासामग्री लिएर ब्रह्मायणी मन्दिर जाने परम्परा छ । नवदुर्गा प्रकट हुने विश्वासका कारण मन्दिरमा दिनभरि नै भक्तजनको घुइँचो लाग्ने गर्दछ ।
ब्रह्मायणी मन्दिरमा पूजा गर्न भक्तपुर, मध्यपुरथिमि, ताथली, सुडाल, बागीश्वरी, चित्तपोल, सिपाडोल, नङ्खेल र गुण्डुललगायतका क्षेत्रका साथै काभ्रेपलाञ्चोक, ललितपुर र काठमाडौँबाट समेत भक्तजन आउने गर्दछन् । भक्तजनले मन्दिरमा जमरा, हाँसको फूल, हाँस, बोका र भालेको बलि दिएर पूजाआजा गर्ने परम्परा छ ।
जात्राको सुरुआतसँगै जोडिएको खःमेय अर्थात् राँगो बधको परम्पराले पनि यस पर्वलाई विशेष बनाएको छ । गथामुगःका दिन नवदुर्गा मन्दिरमा ल्याएर पालिएको महिषासुर दैत्यको प्रतीक खःमेयलाई मङ्गलबार साँझ जाँड खुवाएर मत्त बनाई अबिर र तेल दलेपछि दौडाउँदै ब्रह्मायणी मन्दिर पुर्याइएको थियो । त्यहाँ राँगो बध गरेपछि रातिदेखि नै ब्रह्मायणी जात्रा सुरु भएको हो ।
धार्मिक आस्था, नेवार समुदायको मौलिक संस्कृति र परम्परासँग जोडिएको ब्रह्मायणी जात्रा भक्तपुरको महत्त्वपूर्ण सांस्कृतिक पर्वका रूपमा रहँदै आएको छ । यस जात्रामा सहभागी हुन टाढाटाढाबाट समेत भक्तजन आउने भएकाले विजयादशमीका दिन ब्रह्मायणी मन्दिर परिसरमा विशेष चहलपहल हुने गर्दछ ।
