दसैँको टीका कुन दिशा फर्केर लगाउने ? यस्तो छ शुभ साइत विधि

काठमाडौँ, ४ कात्तिक । नेपालीहरूको महान् चाड बडादसैँको मुख्य दिन आज विजयादशमी, बिहान १० बजेर २६ मिनेटको उत्तम साइतमा मान्यजनबाट रातो टीका र पहेँलो जमरा ग्रहण गरी हर्षोल्लासका साथ मनाइँदै छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज बिहान ८ बजेर ४९ मिनेटमा देवी विसर्जनको शुभ साइत रहेको छ।

नवदुर्गा भवानीको प्रसादस्वरूप टीका र जमरा लगाएर ज्येष्ठ सदस्यबाट आशीर्वाद लिने यस पर्वमा परिवारका सदस्य, इष्टमित्र तथा बन्धुबान्धव एकै ठाउँमा भेला भई सुख, शान्ति र समृद्धिको कामना गर्ने परम्परा छ।

समितिका अनुसार टीका लगाइदिने व्यक्ति पूर्वतर्फ र टीका लगाइमाग्ने व्यक्ति पश्चिमतर्फ फर्किनुपर्छ। घटस्थापनादेखि विधिपूर्वक स्थापना गरी पूजा गरिएको जमरा र रातो टीका आज घरका मूल व्यक्ति तथा ज्येष्ठ सदस्यबाट लगाई आशीर्वाद लिने गरिन्छ।

दसैँको टीकाले टाढा रहेका परिवारका सदस्यलाई समेत एकै ठाउँमा जोड्ने काम गर्छ। यस पर्वले परिवारभित्र आपसी प्रेम, सम्मान, मेलमिलाप र सद्भाव अभिवृद्धि गर्नुका साथै आफन्त, छिमेकी र समुदायबीच भाइचारा तथा आत्मीयताको भावना बलियो बनाउँछ।

विजयादशमीको धार्मिक तथा पौराणिक महत्त्व मार्कण्डेय पुराणअन्तर्गतको ‘देवीमाहात्म्य’ मा विशेष रूपमा वर्णन गरिएको छ। चण्डीपाठ, देवीको महिमा, दानवी शक्तिविरुद्धको सङ्घर्ष र धर्मको रक्षासँग सम्बन्धित प्रसङ्गले देवी दुर्गाको विजयलाई स्मरण गराउँछन्। नवरात्रभर गरिएको धार्मिक साधनाको समापन गर्दै टीका र जमरा लगाएर ज्येष्ठ सदस्यबाट आशीर्वाद लिने परम्परा पनि यसै धार्मिक मान्यतासँग जोडिएको छ।

धार्मिक विश्वासअनुसार विजयादशमी देवी दुर्गाले महिषासुरमाथि र भगवान् श्रीरामले रावणमाथि विजय प्राप्त गरेको दिन हो। त्यसैले यस दिन टीका लगाउँदा जीवनमा सत्य, धर्म र सदाचारको सधैँ विजय होस् भन्ने कामना गरिन्छ।

दसैँमा लगाइने रातो टीकालाई शक्ति, विजय, सौभाग्य र मङ्गलको प्रतीक मानिन्छ भने पहेँलो जमराले उर्वरता, जीवनशक्ति र समृद्धिको सङ्केत गर्छ। यस दिन जलले अभिषेक गरी भगवतीलाई अर्पण गरिएको रातो तथा सेतो वस्त्र प्रसादका रूपमा घाँटीमा लगाउने परम्परासमेत रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *