लिङ्क डिभाइसमा समस्या हुँदा हुम्ला र मुगुमा सञ्चार सेवा प्रभावित
काठमाडौँ, कार्तिक ४ । मुगुका दुई स्थानमा रहेका फोरजी टावरको ‘लिङ्क डिभाइस’मा समस्या आएपछि हुम्ला र मुगुका विभिन्न बस्तीमा इन्टरनेट तथा टेलिफोन सेवा प्रभावित भएको छ । मुगुको रुघा र सोरु गाउँपालिकाको नाथर्पुस्थित टावरमा गत सातादेखि प्राविधिक समस्या देखिएको हो । नेपाल टेलिकमले दसैँ बिदाका कारण तत्काल मर्मत गर्न नसकिने जनाएको छ ।
नेपाल टेलिकम मुगुका प्रमुख उमेश चौधरीका अनुसार टावरमा जडान गरिएका लिङ्क डिभाइसमा समस्या आएपछि सञ्चार सेवा अवरुद्ध भएको हो । दसैँ बिदामा कर्मचारी घर गएकाले बिदा सकिएपछि मात्रै मर्मत कार्य अघि बढाउन सकिने उहाँले बताउनुभयो ।
टावरमा आएको समस्याका कारण मुगुको सोरु गाउँपालिकासहित हुम्लाका अदानचुली, ताँजाकोट, सर्केगाड र चङ्खेली गाउँपालिकाका अधिकांश बस्तीमा सञ्चार सेवा प्रभावित भएको छ ।
अदानचुली गाउँपालिका–४ का वडासदस्य सिंह बोहराले समस्या समाधानका लागि टेलिकमका कर्मचारीलाई पटकपटक फोन गरी आग्रह गरिएको बताउनुभयो । सञ्चार सेवा अवरुद्ध हुँदा दसैँमा घर आउने तथा घरबाट बाहिर जाने आफन्तसँग सम्पर्क गर्न र रकम पठाउनसमेत समस्या भएको उहाँले जानकारी दिनुभयो ।
भौगोलिक विकटताका कारण वैकल्पिक सञ्चार माध्यमको पहुँच सहज नभएका यी क्षेत्रका बासिन्दा टेलिकमको सेवा अवरुद्ध हुँदा थप समस्यामा परेका छन् । सञ्चार सेवा प्रभावित हुँदा दैनिक सम्पर्क तथा आर्थिक कारोबारमा समेत कठिनाइ भएको स्थानीयको भनाइ छ ।
