अस्थायी बेलिब्रिज सञ्चालनमा आएपछि लाङटाङमा पर्यटकको चहलपहल बढ्यो
रसुवा, ४ कात्तिक । फलाखु खोलामा अस्थायी बेलिब्रिज सञ्चालनमा आएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङमा पर्यटकको चहलपहल बढ्न थालेको छ। यातायात सहज भएपछि भोटेकोशी बाढीको विपत्तिपछि सुस्ताएको यस क्षेत्रको पर्यटन गतिविधि पुनः चलायमान हुन थालेको हो।
लाङटाङस्थित ‘माउन्टेन भ्यु’का सञ्चालक निमा लामाका अनुसार यातायात सहज भएसँगै पर्यटक आउने क्रम बढेको छ। पर्यटकको आगमन सुरु भएपछि स्थानीय पर्यटन व्यवसायीमा उत्साह थपिएको उहाँले बताउनुभयो।
जिल्ला सदरमुकाम धुन्चेबाट दुई दिनको पैदल यात्रापछि लाङटाङ पुग्न सकिन्छ। अहिले धुन्चेबाट ठूलो भार्खु, सानो भार्खु, ब्राबल, ठूलो स्याफ्रु, पहिरो, बम्बो, रिमिचे र लामा होटल हुँदै लाङटाङ पुग्न वैकल्पिक मार्ग तय गरिएको छ।
गोसाइँकुण्ड गाउँपालिका–४ मा पर्ने लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा अवस्थित छ। लाङटाङका वडाध्यक्ष डुण्ढु ज्याङवा तामाङले गत भदौ १० गतेको भोटेकोशी बाढीबाट सिर्जित विपत्तिलाई बिर्सँदै पर्यटकहरू पुनः आउन थालेको जानकारी दिनुभयो।
