उपत्यकाका सडकमा सवारी चाप बढ्दै

उपत्यकाका मुख्य सडक

काठमाडौँ,  कात्तिक ४ । विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गर्न आफन्त तथा मान्यजनका घर जाने सर्वसाधारणको चहलपहल बढेसँगै काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्न थालेको छ । बडादसैँको फूलपाती, महाअष्टमी र महानवमीका तुलनामा विजयादशमीको टीकाको शुभसाइतपछि सडकमा सवारीसाधनको सङ्ख्या बढेको हो । सार्वजनिक यातायातमा यात्रुको चाप बढेसँगै उपत्यकाका मुख्य सडकमा समेत भीडभाड देखिन थालेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार उपत्यका भित्रिने प्रमुख नाकासहित काठमाडौँ, भक्तपुर र ललितपुरका मुख्य सडकमा सवारीसाधन सामान्य अवस्थामा सञ्चालन भइरहेका छन् ।

टीकाका दिन आफन्तकामा आउने जाने मानिसको सङ्ख्या उल्लेख्य रूपमा बढ्दा पछिल्ला दुई-तीन दिनको तुलनामा सडकमा सवारीसाधनको चाप बढेको उहाँले बताउनुभयो । उहाँका अनुसार ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन योजनाबद्ध रूपमा प्रहरी परिचालन गरिएको छ । सम्भावित भीडभाड हुने क्षेत्रमा निगरानी बढाउनुका साथै ट्राफिक नियम पालना गराउन नियमित जाँच भइरहेको छ ।

दसैँ मनाउन गाउँघर गएका सर्वसाधारण आफ्नो पेसा तथा व्यवसायका सिलसिलामा काठमाडौँ फर्कने क्रम पनि सुरु भएको छ । दसैँ बिदा सकिएसँगै उपत्यका फर्कने यात्रुको चाप थप बढ्ने अनुमान गरिएको छ ।

प्रहरी उपरीक्षक सुवेदीका अनुसार नेपाल प्रहरीसँगको समन्वयमा यात्रु सुरक्षाका लागि सवारीसाधनको यान्त्रिक अवस्था परीक्षण, तीव्र गति नियन्त्रण तथा चालकले मादक पदार्थ र लागुऔषध सेवन गरे नगरेको जाँचलाई निरन्तरता दिइएको छ । ट्राफिक प्रहरीको सक्रियताले सडक दुर्घटना र मानवीय क्षति न्यूनीकरणमा सहयोग पुगेको उहाँको भनाइ छ ।

दसैँ मनाएर उपत्यका फर्कने यात्रुको चाप बढ्ने भएकाले प्रमुख नाका तथा राजमार्गमा सोहीअनुसार ट्राफिक व्यवस्थापन गरिने प्रहरीले जनाएको छ । सुरक्षा निकायको अनुमानअनुसार यस वर्ष दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट करिब १० लाख नागरिक बाहिरिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *