तलेजुमा कुमारीको हातबाट सर्वसाधारणले टीका लगाए : देवी भवानीलाई देवगृहमा भित्र्याइयो
विजयादशमीको अवसर
काठमाडौँ, कार्तिक ४ । विजयादशमीका अवसरमा भक्तपुरस्थित तलेजुमा जीवित देवी एकान्त कुमारीको हातबाट स्थानीय भक्तजन तथा सर्वसाधारणले टीका, जमरा र प्रसाद ग्रहण गरेका छन् । विजयादशमीको शुभसाइतमा जीवित देवीका रूपमा पूजिँदै आउनुभएकी एकान्त कुमारी लुनिभा बज्राचार्यले सबैभन्दा पहिले टीका लगाउनुभएको थियो । त्यसपछि उहाँको हातबाट तलेजुका मूल पुजारी, नाइके, जोशी, कर्माचार्य, गुरु तथा पुरोहितले टीका ग्रहण गर्नुभएको तलेजुका पूर्वमूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो ।
पुजारी, नाइके, गुरु तथा पुरोहितले टीका लगाएपछि सर्वसाधारणका लागि टीका ग्रहण गर्ने व्यवस्था खुला गरिएको उहाँले बताउनुभयो । त्यसक्रममा स्थानीय भक्तजन तथा सर्वसाधारणले कुमारीको हातबाट टीका, जमरा र प्रसाद ग्रहण गरेका थिए ।
कुमारीको हातबाट टीका ग्रहण गर्ने क्रम सम्पन्न भएपछि दुर्गा विसर्जन गरी तलेजु भवानीलाई दसैँघरबाट मूलचोकको दक्षिणतर्फ रहेको देवगृहमा भित्र्याइएको जोशीले जानकारी दिनुभयो । फूलपातीका दिन तलेजु भवानीलाई देवगृहबाट मूलचोकको पश्चिमतर्फ रहेको कुमारी चोकस्थित दसैँघरमा भित्र्याइएको थियो ।
परम्पराअनुसार राजोपाध्याय, जोशी र कर्माचार्य पुजारीले तलेजु भवानीसहित अन्य देवीदेवतालाई विधिपूर्वक देवगृहमा भित्र्याएका हुन् । उक्त धार्मिक विधिमा १९ जना पुजारी सहभागी भएका थिए ।
देवीदेवतालाई देवगृहमा भित्र्याउने क्रममा पुजारीहरूले परम्परागत जामा, पगरी, भोटो र खास्टोसहितका वस्त्र धारण गरेका थिए । भक्तपुरको तलेजुमा विजयादशमीका अवसरमा सम्पन्न हुने यी धार्मिक विधिले यहाँको मौलिक संस्कृति र परम्परालाई निरन्तरता दिँदै आएका छन् ।
