थिमिमा ६२ वर्षपछि जीवित कुमारीको दर्शन र टीका ग्रहण गर्ने परम्परा पुनः सुरु

कुमारी दर्शनको परम्परा

काठमाडौँ, कार्तिक ४ । भक्तपुरको मध्यपुरथिमिमा ६२ वर्षपछि जीवित देवी कुमारीको दर्शन तथा उहाँको हातबाट टीका ग्रहण गर्ने परम्परा पुनः सुरु भएको छ । स्थानीय शाक्य, बज्राचार्य, कर्माचार्य तथा संस्कृति संरक्षणकर्मीको पहलमा धार्मिक, सामाजिक र ऐतिहासिक महत्त्व बोकेको कुमारी दर्शनको परम्पराले यस वर्षदेखि पुनः निरन्तरता पाएको हो ।

मध्यपुर थिमि-चपाचोकी निवासी चार वर्षीया आयुषी बज्राचार्यलाई यस वर्ष जीवित देवी कुमारीका रूपमा नियुक्त गरिएको छ । विजयादशमीका दिन उहाँलाई मध्यपुरथिमिको आदर्शस्थित लायकु दरबारमा राखेर सर्वसाधारणलाई दर्शन तथा कुमारीको हातबाट टीका ग्रहण गर्ने व्यवस्था मिलाइएको थियो ।

संस्कृतिकर्मी एवं पमा नाइके श्यामकाजी पमा श्रेष्ठका अनुसार मध्यपुरथिमिमा करिब ६२ वर्षअघिसम्म जीवित देवी कुमारीको पूजा गर्ने परम्परा रहे पनि आर्थिक समस्याका कारण रोकिएको थियो । स्थानीय धार्मिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रका अगुवाको पहलमा यस वर्षदेखि उक्त परम्परालाई पुनः निरन्तरता दिइएको उहाँले बताउनुभयो ।

राजा राय मल्लको पालामा नेपाल संवत् ६११ मा जीवित देवी कुमारीलाई तलेजु भवानीको दोस्रो स्वरूपका रूपमा पूजा गर्ने परम्परा रहेको ऐतिहासिक विवरण उल्लेख गर्दै श्रेष्ठले अब यसले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो ।

श्रेष्ठका अनुसार नवनियुक्त कुमारीका पिता सुरेश बज्राचार्यले कुमारीलाई आफ्नो निवासमा ल्याएपछि उहाँको हातबाट टीका ग्रहण गरी दक्षिणा र सगुन अर्पण गरिएको थियो । त्यसपछि बालकुमारीको परिक्रमा गराई कुमारीलाई लायकु दरबारमा राखिएको थियो । त्यहाँ दिनभर स्थानीय भक्तजन तथा सर्वसाधारणले कुमारीको दर्शन गरी टीका ग्रहण गरेका थिए ।

लामो समयदेखि रोकिएको जीवित कुमारीको पूजा, दर्शन र टीका ग्रहण गर्ने परम्परा पुनः सुरु हुनुले मध्यपुरथिमिको मौलिक संस्कृति तथा ऐतिहासिक सम्पदाको संरक्षणमा योगदान पुग्ने स्थानीय संस्कृतिकर्मीको विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *