प्राकृतिक स्रोतको उपयोगबाट अन्नपूर्ण संरक्षण क्षेत्रमा तीन करोड ८६ लाख रुपियाँ आम्दानी

प्राकृतिक स्रोत साधनको उपयोग

काठमाडौँ, कार्तिक ५ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले प्राकृतिक स्रोत साधनको उपयोगबाट गत आर्थिक वर्षमा तीन करोड ८६ लाख ५१ हजार ९०८ रुपियाँ आम्दानी गरेको छ । जडीबुटी, काठ दाउरा, ढुङ्गागिट्टीलगायत प्राकृतिक स्रोतको सङ्कलन तथा उपयोगबापत उक्त रकम सङ्कलन भएको हो ।

आयोजना प्रमुख डा रविन कडरियाका अनुसार आर्थिक वर्ष २०८२/८३ मा सङ्कलित उक्त रकम अघिल्ला दुई आर्थिक वर्षको तुलनामा कम हो । कार्यालयले आव २०८१/८२ मा पाँच करोड ७७ लाख १६ हजार ७८१ रुपियाँ र आव २०८०/८१ मा तीन करोड ९० लाख ९८ हजार ९९१ रुपियाँ सङ्कलन गरेको थियो ।

अन्नपूर्ण संरक्षण क्षेत्रभित्र रहेका ५७ वटा संरक्षण क्षेत्र व्यवस्थापन समितिमार्फत प्राकृतिक स्रोतको उपयोगबापतको रकम सङ्कलन हुने गरेको आयोजना प्रमुख डा कडरियाले बताउनुभयो । उहाँका अनुसार समितिहरूले प्राकृतिक स्रोतबाट सङ्कलित रकमलाई वार्षिक कार्यक्रम तथा योजना बनाएर संरक्षण र सामुदायिक विकासका गतिविधिमा खर्च गर्ने गरेका छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्रमा बहुमूल्य यार्सागुम्बालगायत विभिन्न प्रकारका जडीबुटी सङ्कलन तथा निकासी हुँदै आएको छ । जडीबुटीको सङ्कलन र बिक्रीबाट स्थानीयवासीको आयआर्जनमा टेवा पुग्दै आएको छ । प्राकृतिक स्रोतको उपयोगलाई व्यवस्थित बनाउँदै संरक्षणलाई प्रभावकारी बनाउन आयोजना कार्यालयले सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ ।

आयोजना कार्यालयले प्राकृतिक स्रोतबाट प्राप्त आम्दानीसँगै पर्यटक प्रवेश शुल्कबाट सङ्कलित रकम संरक्षण तथा पर्यटन प्रवर्द्धनमा खर्च गर्दै आएको जनाएको छ । पदमार्ग निर्माण तथा मर्मत, फोहर व्यवस्थापन, साना सिँचाइ, खानेपानी आयोजना निर्माण, स्थानीयको आयआर्जन वृद्धि र संरक्षण शिक्षालगायतका कार्यक्रम सञ्चालन गरिँदै आएका छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्रमा भ्रमण गर्ने विदेशी पर्यटकबाट प्रवेश शुल्कबापत वार्षिक करोडौँ रुपैयाँ राजस्व सङ्कलन हुने गरेको छ । संरक्षण क्षेत्रभित्रका निषेधित स्थानमा आवश्यक अनुमति लिएर भ्रमण गर्ने पर्यटकले बुझाउने शुल्कबाट पनि राज्यकोषमा योगदान पुग्दै आएको छ । यसरी प्राकृतिक स्रोतको उपयोग र पर्यटनबाट प्राप्त आम्दानी संरक्षण तथा स्थानीय समुदायको विकासमा परिचालन हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *