४६औँ तःमुंज्याको पूर्वसन्ध्यामा भक्तपुरमा सुकुन्दा र्याली
भक्तपुर, ५ कात्तिक । नेपालभाषा साहित्य सम्मेलन तःमुंज्याको ४६औँ संस्करण भव्य रूपमा सम्पन्न गर्न आह्वान गर्दै भक्तपुरमा सुकुन्दा र्याली निकालिएको छ। ‘जनता म्वाःसा भाषा म्वाइ’ अर्थात् ‘जनता बाँचे भाषा बाँच्छ’ भन्ने मूल नाराका साथ नेपाल संवत् ११०० देखि सुरु भएको तःमुंज्या कात्तिक ६ र ७ गते आयोजना हुँदैछ।
तःमुंज्या आयोजनास्थल गोमारी याताबाट सुरु भएको र्यालीमा भक्तपुरका विभिन्न सांस्कृतिक समूह तथा सर्वसाधारणको सहभागिता थियो। नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाई, भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी र आयोजक समितिका अध्यक्ष उकेश कवांले संयुक्त रूपमा सुकुन्दामा दीप प्रज्वलन गरी र्यालीको सुरुआत गर्नुभएको थियो।
कार्यक्रममा उपप्रमुख जोशीले तःमुंज्यालाई सभ्य र भव्य रूपमा सफल बनाउन हरेक वर्ष सुकुन्दा र्याली आयोजना गरिँदै आएको बताउनुभयो। उहाँले यो पर्व भक्तपुरको संस्कृतिमा महत्त्वपूर्ण आयामका रूपमा स्थापित हुँदै गएको उल्लेख गर्दै सबैलाई हर्षोल्लासका साथ सहभागी हुन आग्रह गर्नुभयो।
आयोजक समितिका अध्यक्ष उकेश कवांले नेपालभाषा साहित्य तःमुंज्या जनताको साझा दबु भएको बताउनुभयो। उहाँका अनुसार यसमा जनपक्षीय साहित्य तथा सांस्कृतिक विधालाई भेदभावबिना समावेश गरिँदै आएको छ। उहाँले तःमुंज्या साहित्यिक अभियानका साथै वर्गीय र राजनीतिक विचारबाट समेत प्रेरित रहेको उल्लेख गर्दै यसको सफलताका लागि व्यापक प्रचारप्रसार र सबैको सहयोग आवश्यक रहेको बताउनुभयो।
कात्तिक ६ र ७ गते बिहान ११ बजेदेखि सुरु हुने तःमुंज्यालाई सफल बनाउन आर्थिक, भौतिक तथा नैतिक सहयोग गर्न पनि अध्यक्ष कवांले सबैमा आग्रह गर्नुभयो।
सुकुन्दा र्यालीमा दिदीबहिनी, दाजुभाइ, युवा, बालबालिका तथा ज्येष्ठ नागरिकको उत्साहजनक सहभागिता थियो। धिमाय बाजासहित ठूलो आकारको सुकुन्दा खर्पनमा बोकेर गोल्मढीबाट सुरु भएको र्याली गाईजात्राको प्रदक्षिणा मार्ग हुँदै नगर परिक्रमा गरी पुनः गोल्मढी यातामै पुगेर समापन भएको थियो।
र्यालीमा ख्वप लाखे आजु, सिद्धि गणेश बाँसुरी बाजा, महेश्वरी बाँसुरी बाजा खल तथा डम्बरेश्वर दाफा भजन मण्डललगायतका सांस्कृतिक समूहले बाजागाजासहित सहभागिता जनाएका थिए।
समापन कार्यक्रममा आयोजक समितिका उपाध्यक्ष कृष्णगोविन्द खाइजुले सुकुन्दा स्वागत सत्कारको महत्त्वपूर्ण प्रतीक भएको बताउनुभयो। र्यालीमा देखिएको उत्साहले दुईदिने तःमुंज्या भव्य हुने सङ्केत गरेको उल्लेख गर्दै उहाँले सहभागी तथा सहयोगी सबैलाई धन्यवाद दिनुभयो।
