इरानलाई पुनः आक्रमण नगर्न अमेरिका र इजरायललाई सर्वोच्च नेता मोजतबा खामेनीको चेतावनी
तेहरान। इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई पुनः युद्धमा नधकेल्न र कुनै पनि प्रकारको सैन्य दुस्साहस नगर्न कडा चेतावनी दिनुभएको छ। इरानको वर्तमान प्रशासनका तीव्र आलोचक मानिएका अमेरिका र इजरायलका तर्फबाट सम्भावित आक्रमणको धम्की आइरहेका बेला सर्वोच्च नेताको आधिकारिक वेबसाइटमार्फत एक लिखित वक्तव्य जारी गर्दै उहाँले सो चेतावनी दिनुभएको हो।
उच्च सैन्य कमाण्डरहरूसँगको विशेष बैठकपछि जारी वक्तव्यमा सर्वोच्च नेता खामेनीले भन्नुभएको छ, “यदि शत्रुहरूले फेरि सैन्य वा आतङ्कवादी आक्रमणको दुस्साहस गरे भने त्यसलाई कसरी र कहिले रोक्ने भन्ने समय र अवस्था इरानका सशस्त्र बल तथा इरानी जनताले नै निर्धारण गर्नेछन्।”
सशस्त्र बलका प्रमुख अली अब्दोल्लाही, सेना प्रमुख अमिर हातमी र इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आइआरजिसी) का कमाण्डर अहमद वाहिदीसँगको यो बैठक मोजतबा खामेनी सर्वोच्च नेता बनेपछिको पहिलो औपचारिक तथा सार्वजनिक जानकारीमा आएको बैठक हो। पदभार ग्रहण गरेयता उहाँ सार्वजनिक रूपमा देखिनुभएको छैन। गत फेब्रुअरीमा मध्यपूर्व युद्धको सुरुवातका क्रममा अमेरिका र इजरायलको संयुक्त आक्रमणमा उहाँका पिता अयातुल्ला अली खामेनी मारिएका थिए।
बैठकका क्रममा सर्वोच्च नेता खामेनीले कमाण्डरहरूलाई ‘कुनै पनि स्तर वा प्रकारको धम्कीको तत्काल, प्रभावकारी र भौगोलिक रूपमा असीमित कडा जवाफ दिन’ निर्देशन दिनुभएको छ। साथै उहाँले अमेरिकी र इजरायली शत्रुहरूका सबै प्रकारका मूर्त तथा अमूर्त सम्पत्तिहरूलाई इरानी सेनाको लक्ष्य (टार्गेट) सूचीमा अद्यावधिक गर्न समेत आदेश दिनुभएको छ।
फेब्रुअरी २८ मा अमेरिका र इजरायलको आक्रमणपछि सुरु भएको यस क्षेत्रीय सङ्घर्षलाई रोक्न र युद्ध पुनः भड्किन नदिन हाल नयाँ कूटनीतिक प्रयासहरू तीव्र पारिएका छन्। यसै क्रममा शुक्रबार कतारको एक प्रतिनिधिमण्डलले तेहरान पुगेर इरानी अधिकारीहरूसँग वार्ता गरेको छ। इरानले अमेरिकी उपराष्ट्रपति जेडी भान्सको पत्र प्राप्त गरे पनि हालसम्म त्यसको कुनै औपचारिक जवाफ नदिएको इरानी सञ्चारमाध्यमहरूले जनाएका छन्।
